राजनीतिक कोभिडले कसैलाई बाँकी राखेन : मुख्यमन्त्री राई

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १७ : १४
राजनीतिक कोभिडले कसैलाई बाँकी राखेन :  मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले राजनीतिमा देखिएको कोभिडले कसैलाई बाँकी नराखेको बताएका छन् ।सोमबार प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई निलेको टिप्पणी गर्दै कसैलाई बाँकी नराखेको बताए ।

उनले भने, ‘कोभिड १९ त बिस्तारै फैलिएको थियो । तर, त्यो राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, सिधै सबै प्रदेश र स्थानीय तहमा फैलियो, कसैलाई बाँकी राखेन । स्वास्थ्य क्षेत्रमा नभई नेपाली राजनीतिमा पनि नयाँ प्रकारको कोभिड देखियो, तत्कालीन नेकपाभित्र देखियो ।

राजनीतिक कोभिडले प्रदेश–१ को प्रदेशसभा र आफूहरु पनि प्रभावित भएको उनले बताएका छन्। साथै, यी दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि उनले बताए ।

संघीयता शिशु अवस्थामा रहेको बताउँदै यसलाई हुर्काउने, बढाउने तथा रेलको गतिमा कुदाउने जिम्मेवारी आफूहरुको काँधमा रहेको पनि उनले बताएका छन् । साथै, आफूले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक नबोलाएको प्रस्ट पनि पारे ।

प्रतिक्रिया दिनुहोस