राजेन्द्र महतोलाइ बर्खास्त गर्न माग

पत्रपत्रिकाबाट

आइतबार, २३ जेठ २०७८, ०७ : ३१
राजेन्द्र महतोलाइ बर्खास्त गर्न माग

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभारग्रहण लगत्तै संविधानविपरीत विवास्पद अभिव्यक्ति दिएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री महतोले शनिबार पदभार ग्रहणलगत्तै संविधानको मर्म र प्रस्तावनाविपरीत हुनेगरी नेपाललाई बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलन तयारी गर्ने अभिव्यक्ति दिएका हुन् ।

सो अभिव्यक्तिको चौतर्फी विरोध र आलोचना भएको छ । देशको सार्वभौमिकताविपरीत अभिव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री महतोलाई बर्खास्त गर्न माग गरिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली हालसम्म पनि यो विषयमा मौन बस्नुलाई आश्चर्यका रूपमा हेरिएको छ ।

विवास्पद अभिव्यक्तिपछि चौतर्फी आलोचना खेपिरहेकै बेला पुनः दिउँसो जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि पनि उनले ‘नेपाल बहुल राष्ट्रिय राज्य भएको’ जिकिर गरेका छन् । ‘बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानुन, संविधान र सहभागिता हुनुपर्ने’ उनको तर्कसमेत छ ।

‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन, सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ,’ उनले भने, ‘यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’ राजधानी दैनिकमा खबर छ ।