उपप्रधानमन्त्री भएकै दिनदेखि राजेन्द्र महतो किन परे विवादमा ?

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, १६ : ०१
उपप्रधानमन्त्री भएकै दिनदेखि राजेन्द्र महतो किन परे विवादमा ?

काठमाडौं । उपप्रधानमन्त्री नियुक्त भएकै दिनदेखि आफ्नो अभिव्यक्तिका कारण राजेन्द्र महतो विवादमा तानिएका छन् । राजेन्द्र महतोको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत आलोचना हुन थालेको छ । उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्ने क्रममा उनले नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउनका लागि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि राजेन्द्र महतो विवादमा तानिएका छन् । 

राजेन्द्र महताले हामी हाम्रा मुद्दाहरू स्थापित गरेर छाड्छौं, बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्छौं भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई लिएर नेताहरुले आपत्ति जनाएका छन् भने सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ । 

सत्तारुढ दल एमालेका वरिष्ठ नेता वामदेव गौतमले महतोको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विरोध जनाए । महतोको अभिव्यक्तिले आफू अत्यन्त दुःखी भएको गौतमले बताए । गौतमले महतोले भनेको कथित आन्दोलनले नेपाललाई विघटन गर्ने मनसाय राखेका बताए । गौतमले महताको अभिव्यक्तिप्रति केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराए ।

‘नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओली राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनविज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु’ गौतले लेखे । 

गौतमले मात्र होइन एमालेका युवा नेता योगेश भट्टराईले पनि फेसबुक स्टाटसमार्फत महतोको अभिव्यक्तिको आलोचना गरे । उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव दिए । भट्टराई लेखे, ‘पहिलो र दोस्रो संविधानसभामै असान्दर्भिक भैइसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्वतिर फर्काउने यस्ता अभिब्यक्तिमाथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।’