जसपा विवाद : महन्थ केन्द्रीय सरकारमा जाँदै, उपेन्द्र प्रदेश २ को मन्त्री हेरफेर गर्दै

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १४ : २७
जसपा विवाद : महन्थ केन्द्रीय सरकारमा जाँदै, उपेन्द्र प्रदेश २ को मन्त्री हेरफेर गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संघीय सरकारमा गृहकार्य गरिरहेको बेला अर्का अध्यक्ष उपेन्द्र यादव पनि प्रदेश २ को मन्त्रीपरिषद् हेरफेर गर्ने गृहकार्यमा लागेका छन् । त्यसका लागि यादवले काँग्रेस, माओवादी केन्द्र र एमाले (माधव नेपालपक्ष) सँग छलफल चलाएका हुन् । अध्यक्ष यादवले हिजै मात्र काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । आज उनले सो पार्टीका उपाध्यक्ष विमलेन्द्र निधिसँग छलफल गरेका छन् ।

काँग्रेसले पार्टीमा छलफल गरेर निर्णय लिने अध्यक्ष यादवलाई जवाफ दिएको स्रोतले जनाएको छ । प्रदेश २ मा जसपा नेतृत्व (पूर्व राजपा र पूर्व समाजवादी पार्टी) नेतृत्वको सरकार रहेको छ । त्यसमध्ये पूर्व राजपाका केही मन्त्रीलाई हटाएर मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी अध्यक्ष यादवको रहेको छ । पूर्वराजपाका तीनजना मन्त्री र तीनजना राज्यमन्त्री छन् भने पूर्व समाजवादीका मुख्यमन्त्रीसहित तीनजना मन्त्री र तीनजना राज्यमन्त्री छन् ।

पूर्वराजपाका दुईजना मन्त्री रामनरेश राय यादव र नवलकिशोर साह उपेन्द्र यादवका पक्षमा आइसकेका छन् । बाँकी एकजना मन्त्री जितेन्द्र सोनल र सुरेश मण्डल, डा.डिम्पल झा र अभिराम शर्मा मात्र राजपा नेपाल पक्षमा रहेका छन् । प्रदेश २ का एकजना प्रदेशसभा सदस्यले भने, ‘एकजना मन्त्री हटाएर उपेन्द्र यादवले रिक्स लिनु हुन्न, रामनरेश र नवलकिशोरलाई हटाउन सक्नुहुन्न, बाँकी रह्यो एकजना जितेन्द्र सोनल उहाँलाई एक्लै हटाउनु हुन्न बरु मन्त्रालय थप गरेर काँग्रेसलाई सहभागी गराउने सम्भावना देखिएको छ । नत्र अर्को पनि सम्भावना छ, सबै मन्त्रीलाई हटाएर काँग्रेस, माओवादी केन्द्रलाई समेत समावेश गरेर मन्त्रीमण्डल पुनगर्ठन गर्ने सम्भावना रहेको छ ।’

त्यसका लागि प्रदेश २ मा हस्ताक्षर अभियान पनि चलिरहेको छ । मुख्यमन्त्रीमा टिक्नका लागि आफ्नो पक्षमा बहुमत देखाउनका लागि लालबाबु राउतले हस्ताक्षर संकलन गरिरहेका छन् भने उता, जसपा नेपालका तर्फबाट जितेन्द्र सोनलले पनि हस्ताक्षर संकलन गरिरहेका छन् । संसदीय दलको नेता जो बन्छ, उही नै मुख्यमन्त्री बन्ने भएकाले प्रदेश २ मा संसदीय दलको नेता बन्नका लागि हानथाप चलिरहेको छ ।

संसदीय दलको नेता बन्नका लागि २८ जना सांसद चाहिन्छ ।  जसपा नेपालका ५५ जना सांसद छन् । (३० जना पूर्व समाजवादी पार्टी र २५ जना पूर्व राजपा), काँग्रेसका १९, माओवादी केन्द्रका ८, एमालेको २१, संघीय समाजवादी पार्टीका एक गरी १०४ सांसद छन् । सरकार बनाउनका लागि ५३ जना सांसद भए पुग्छ ।

प्रतिक्रिया दिनुहोस