विश्वकप छनोटमा नेपालको दोस्रो जित

चाइनिज ताइपेईमाथि २–० को जित

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, ०८ : ५३
विश्वकप छनोटमा नेपालको दोस्रो जित

काठमाडौं । नेपालले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । चाइनिज ताइपेइलाई २–० ले पराजित गर्दै नेपालले विश्वकप छनोटमा दोस्रो जित दर्ता गर्न सफल भएको हो ।

यसअघि नेपालले २१ महिना अघि चाइनिज ताइपेइलाई नै २–० ले पराजित गर्दै विश्वकप छनोटमा पहिलो जित निकालेको थियो । त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए । विश्वकप छनोटमा कुवेतसँग पहिलो खेलमा ७–० को हार बेहोरेको नेपालले अर्को खेल १–० ले गुमाएको थियो । अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

कुवेतस्थित जवेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति भएको खेलमा नेपालको जितमा अन्जन विष्ट र सब्सिच्युट नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमा नै पेनाल्टीमार्फत गोल गरेका थिए । सन्तोष तामाङको फ्रिकिकलाई क्लियर गर्ने क्रममा ताइपेइका डिफेन्डर वेइ चुआन चेनले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले नेपाललाई पेनाल्टी प्रदान गरेको थियो । जसमा अन्जन चुकेनन् । उनको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । उनले चाइनिज ताइपेइविरुद्ध तीन तथा इराकविरुद्ध एक गोल गरेका छन् ।

११औं वु चुन चिङको सिक्स यार्ड बक्सभित्रको फ्रिकिकलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै बचाउँदै नेपालको संकट टारे । १६औं मिनेटमा सन्तोष तामाङको लामो पासमा सुनिल बलले बल भेट्ने प्रयास गरेपनि गोलरक्षक शिह शिनले सहजै बचाए । २४औं मिनेटमा अन्जन विष्टले लेफ्ट विंगमा दुई डिफेन्सलाई बिट गर्दै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक शिनले बचाए ।

६६औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर ताइपेइले प्राप्त फ्रिकिक वालमा लाग्दा नेपालको अग्रता कायम रहयो । ८०औं मिनेटमा मनिष डाँगीले एकल प्रयासमा बल अघि बढाएर गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै ८२औं मिनेटमा अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २–० ले अघि बढाए । उनी ७०औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका थिए । यो जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ ।