भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउँदा ९१ मुलुक नयाँ भेरियन्टको जोखिममा : डब्ल्यूएचओ

एजेन्सी

बुधबार, १९ जेठ २०७८, ११ : ४७
भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउँदा ९१ मुलुक नयाँ भेरियन्टको जोखिममा : डब्ल्यूएचओ

एजेन्सी ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप निर्यातमा भारतले लगाएको प्रतिबन्धको असर ९१ मुलुकमा परेको बताएको छ ।

भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको कारण नै यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम पनि अत्यधिक देखिएको डब्ल्यूएचओको उल्लेख गरेको छ ।

‘विशेषगरी सेरम इन्स्टिच्युट अफ इन्डियाबाट नआएको खोपको भरपाई एस्ट्राजेनेका कम्पनीले गर्न सकेको छैन, जसको कारण ९१ मुलुकले खोप आपूर्तिको कमीबाट प्रभावित भएका छन्’, डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताइन् । उनका अनुसार खोप अभावको सामना गर्ने मुलुक कोरोनाको नयाँ भेरियन्टको जोखिममा रहेका छन् ।

‘बी.१.६१७ मात्र होइन अन्य भेरियन्ट पनि अन्य मुलुकमा देखिन सक्छन् र विश्वभर फैलिन सक्छन् । यी भेरियन्ट निकै तीव्र गतिमा फैलिन सक्छ भन्ने हामीलाई थाहा छ । ती भेरियन्टहरुलाई पहिचान गर्नुभन्दा पहिला नै यो विश्वभर फैलिसकेको हुन्छ । त्यही कुरा ११७ भेरियन्टमा पनि लागू भएको छ र अहिले सबैभन्दा फैलिरहेको छ’, उनले थपिन् ।

गत वर्ष सेरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँग सम्झौता गर्दा कम तथा मध्यम आय भएका मुलुकमा एक अर्ब डोज खोप आपूर्ति गर्ने बताएको थियो । सन् २०२० भित्रै ४० करोड डोज खोप आपूर्ति गर्ने कम्पनीले बताएको थियो । यो खोप कोभ्याक्स कार्यक्रमको लागि सम्झौता गरिएको थियो।

‘अधिकांश अफ्रिकी मुलुकमा दुर्भाग्यवश जनसंख्याको ०.५ प्रतिशतभन्दा कमले मात्र खोप पाएका छन् र ती मुलुकमा सबै स्वास्थ्यकर्मीले पनि खोप पाएका छैनन्’, स्वामीनाथनले भनिन् ।

भारतले मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएसँगै कोरोना खोपको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । डब्ल्यूएचओले यस वर्षको अन्तिमतिर मात्र भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउने अपेक्षा गरेको छ । भारतले लगाएको प्रतिबन्धको कारण धेरै मुलुकमा खोपको अभाव देखिएको भन्दै डब्ल्यूएचओले विश्वका अन्य मुलुकसँग आफूलाई बढी भएको खोप अन्य मुलुकलाई दिन आग्रह गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस