कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु

पत्रपत्रिकाबाट

बुधबार, १९ जेठ २०७८, ०७ : २४
कोरोना संक्रमणबाट प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु

काठमाडौं । देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ ।

गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने गरेको छ । गत ५ जेठमा एकै दिन २ सय ४६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको थियो ।

एक साता अवधिमा ७ सय ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार १ सय ४५, बिहीबार १ सय ६, शुक्रबार ९६, शनिबार १ सय १६, आइतबार १ सय ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, संक्रमणबाट सोमबार १ सय १४ र मंगलबार ६८ जनाको मृत्यु भयो । मंगलबार मृतक संख्या २ अंकमा झरेको छ । हालसम्म ७ हजार ४ सय ५४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, मंगलबार देशभर ६ हजार ८ सय ९८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८ सय ९८ जना निको भएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ जना पुगेको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस