प्रादेशिक आयुर्वेद चिकित्सालयमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १८ : १४
प्रादेशिक आयुर्वेद चिकित्सालयमा कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि

काठमाडौं ।  प्रादेशिक आयुर्वेद चिकित्सालयले कोरोना संक्रमित बिरामीलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । मंगलबार चिकित्सालयले गेटा मेडिकल कलेजमा निर्माणाधीन कोरोना स्याहार केन्द्रका ९ जना कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि वितरण गरेको हो ।

कोरोना संक्रमित बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढाउन र रोगीको मनोबल उच्च बनाउन औषधि वितरण गरिएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशक डा। खगेन्द्र बमले बताए । उनका अनुसार कोरोना स्याहार केन्द्रलाई अस्वगन्धा र जेठी मधु वितरण गरिएको छ । दुईवटै आयुर्वेदिक औषधि कोरोना संक्रमण निको पार्न महत्वपूर्ण मानिएको उनले बताए ।

‘दुईवटै आयुर्वेदिक औषधि कोरोना संक्रमितका लागि देशभर प्रयोग भइरहेका छन्,’ निर्देशक बमले भने, ‘भारतमा पनि यो औषधिको प्रयोग भइरहेको छ ।’ अस्वगन्धाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाई रोगीलाई छिटो संक्रमणमुक्त बनाउन सहयोग पुग्ने र जेठी मधुले कफ हटाई खोकी निको पार्ने तथा घाँटीमा देखिने अन्य समस्या निको पार्न समेत मद्दत गर्ने उनको भनाइ छ ।

यी औषधिको सेवनले अन्य रोगसँग लड्ने क्षमताको समेत विकास गर्ने उनले बताए । ‘आयुर्वेदिक औषधिको सेवनले शरीरमा नकारात्मक असर गर्दैन,’ उनले भने, ‘शरीरमा अन्य रोगसँग लड्ने क्षमताको समेत राम्रो विकास हुन्छ ।’

चिकित्सालयका तर्फबाट प्रदान गरिएको औषधि ग्रहण गर्दै कोरोना स्याहार केन्द्रका संयोजक तथा गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले आयुर्वेदिक औषधिको प्रभाव राम्रो पाइएको बताए । ‘पहिलो चरणमा कोरोना संक्रमण फैलिँदा क्वारेन्टिनमा रहेका नागरिकलाई आयुर्वेदिक औषधि वितरण गरेका थियौं,’ उनले भने, ‘जसका कारण धेरै बिरामी सहजै निको भएका थिए, अहिले पनि हामीले रोगीलाई आयुर्वेदिक औषधि दिने गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस