कोरोना भाइरसको भेरियन्टलाई नयाँ नाम दिने डब्ल्युएचओको निर्णय

एजेन्सी

मंगलबार, १८ जेठ २०७८, ११ : ३७
कोरोना भाइरसको भेरियन्टलाई नयाँ नाम दिने डब्ल्युएचओको निर्णय

काठमाडौँ । कोरोना भाइरसका नयाँ भेरियन्टलाई अब देशअनुसारको नाम नदिइने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएच) ले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ ।

भाइरसको नयाँ भेरियन्टमा देशको नाम जोडिएको भन्दै भारत लगायतका मुलुकले गुनासो गरिरहँदा डब्ल्युएचओले नयाँ भेरियन्ट नामाकरणको नयाँ विधि निकालेको हो ।

डब्ल्युएचले अब यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ ।

जसअनुसार अब युके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ ।

यसै महिनाको सुरुमा भारतीय सरकारले गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना गरेको थियो।