खेतबारीमा हुनुपर्ने बेला ओछ्यानमा छन् किसान

रासस

आइतबार, १६ जेठ २०७८, १५ : ०५
खेतबारीमा हुनुपर्ने बेला ओछ्यानमा छन् किसान

गलेश्वर । म्याग्दी जिल्लामा पनि केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको छ। विगत वर्ष यतिबेला खेतबारीमा व्यस्त देखिने म्याग्दीका किसानहरू यस वर्ष भने केही अस्पतालका शय्या त केही घरका ओछ्यानमा छन्।

खेतीबालीको यो समयमा कामको व्यस्तताले छट्पटीमा देखिने अहिले भने ओछ्यानमा छट्पटाउँदै कोरोना महामारीसँग लडिरहेका छन्।

मध्यजेठ सुरु हुनै लाग्दा हिमाली जिल्ला म्याग्दीमा खेतीपातीको कामले भ्याइ नभ्याइ हुन्छ। जेठको आधाआधी भनेको बेसीका खेतवारीमा मकै गोड्ने, बाँझो जमिन जोत्ने, मल हाल्ने, धान, कोदाको बिउ राख्ने र उच्च लेकाली क्षेत्रमा रोपाइँ गर्न किसान बिहान उज्यालो नहुँदै उठेर राति अवेरसम्म व्यस्त हुने समय हो।

यो वर्ष कोरोना संक्रमणले उनीहरूको यो व्यस्त समय पनि खाइदिएको छ। त्यसैले किसानहरू अहिले खेतबारीमा देखिँदैनन्, अस्पताल या घरमै एकान्तबासमा छन्। कतिपय कोरोना भाइरससँग लडिरहेका छन्।

कोरोनाको संक्रमणका कारण ग्रामीण क्षेत्रका बस्ती प्रभावित भएका छन्। खेतबारीमा पुगेर धानको बिउ राख्ने, मकै गोड्ने, कुलो र पानीको व्यवस्था मिलाउने समय हो यो।

त्यस्तै अझ उच्च लेकाली क्षेत्रमा त हलो र कोदालो बोकेर रोपाइँ गर्न जाने समय पनि भइसक्यो। विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्टसहितको दोस्रो लहरले म्याग्दीको बजार क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा संक्रमण तीव्र रुपमा फैलिएको हुँदा खेतबारीमा काम गर्नुपर्ने समयमा किसान बिरामी भएर सुतेका छन्।

किसान नै बिरामी भएपछि ग्रामीण भेगको कृषि कर्म प्रभावित बनेको स्थानीय जनप्रतिनिधि बताउँछन्। ‘गाउँमा अब धान रोपाइँको काम सुरु हुँदै छ, किसान बिरामी भएर ओछ्यान परेका छन्’ मालिका गाउँपालिका– ५ देवीस्थानका वडाध्यक्ष पिपला बूढाले भने, ‘घरघरमा संक्रमित देखिन थालेपछि खेतीपातीको काम प्रभावित हुने भएको छ।’

‘गाउँमा खेतीपातको काम सुरु भएको छ, घरको मुली कोरोनाका कारण अस्पतालको शय्यामा बसेको चार दिन भयो’ बेनी अस्पतालमा उपचाररत मंगला गाउँपालिका– ३ बरंजाका एक संक्रमितले भने, ‘एकातिर मरिन्छ कि भन्ने डर, अर्कोतिर खेती किसानीको खसखस्, दोहोरो चिन्तामा पिरलिएको छु।’

म्याग्दीमा केही दिनअघिदेखि निरन्तर वर्षा भैरहेको छ। लेकाली क्षेत्रमा रोपाइँको माचो सुरु हुन थालेको छ तर दुई सातादेखि ग्रामीण क्षेत्रमा कोरोना संक्रमितको ग्राफ ९० प्रतिशतभन्दा माथि उक्लिएपछि गाउँले झस्किएका छन्।
ग्रामीण क्षेत्रमा परीक्षणको काम तीव्र पारिएको छ।

परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।

‘बजार क्षेत्रमा नयाँ संक्रमित थपिने क्रम घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ, ग्रामीण क्षेत्रमा परीक्षणको दायरा बढाएसँगै संक्रमित पहिचान हुन थालेका हुन्,’ प्रमुख लम्सालले भने।

निषेधाज्ञा भएपछि सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको संक्रमण विवाह, चौरासी, व्रतबन्ध छेवार, किरियाजस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेरमार्फत फैलिएको बेनी अस्पतालका प्रमुख डा। जितेन्द्र कुवँरले बताए।

गत बुधबार पछिल्लो २४ घण्टामा म्याग्दीमा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यससँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या एक हजार ७७२ जना पुगेको छ।

जिल्लामा ५५० जना सक्रिय संक्रमित पुगेका छन् भने १६४ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट बेनी नगरपालिकामा ९४, मालिका गाउँपालिकामा १, अन्नपूर्ण गाउँपालिकामा ४, मंगला गाउँपालिकामा ४, धौलागिरि गाउँपालिकामा ३, रघुगंगा गाउँपालिकामा ७ र जलजला गाउँपालिकाका ८ जना गरी १२१ जना पहिचान भएको छ।

त्यसैगरी, एन्टिजेन प्रविधिबाट बेनी नगरपालिकाका ५, रघुगंगा गाउँपालिकाका २७, मालिका गाउँपालिकामा १, अन्नपूर्ण गाउँपालिकाका ३६ जना गरी जम्मा १५७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन्। रिपोर्ट आउन बाँकीमध्ये ९८ प्रतिशत व्यक्ति ग्रामीण क्षेत्रका छन्।
बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लीला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अर्थुंगे र भकिम्लीमा संक्रमण फैलिएको छ।

भकिम्लीमा ३२ जना लक्षण देखिएका र शंकास्पदको स्वाबको नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

यसैगरी, रघुगंगा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा संक्रमण फैलिएको छ। केही दिनअघि वडा नं ५ को छिस्वाङमा फैलिएको कोरोना मंगलाको वडा नं ३ मा पर्ने बरङ्जा क्षेत्रमा बढेको छ।

एक हप्ताअघिसम्म न्यून मात्रामा संक्रमित भएको मालिका गाउँपालिकाको देवीस्थान, रुम, डाडागाउँ र निस्कोटमा देखिएको छ।

मालिकामा रुमका ३२, देवीस्थानका २३, निस्कोटमा नौ, डाडागाउँमा आठ, ओखरबोटमा छ र दरवाङमा एक जना संक्रमित छन्।
अन्नपूर्णको दोवामा पनि कोरोना संक्रमित भेटिएका छन्। धवलागिरिको ताकम र लुलाङमा पनि संक्रमितको अवस्था स्थिर देखिएको छ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लारवाहीका कारण ग्रामीण क्षेत्रमा कोरोना महामारी नियन्त्रणमा चुनौती देखिएको छ।

सदरमुकाम बेनीका चोक, गल्ली र घरहुँदै धौलागिरि हिमालको शिखरसम्म फैलिएको कोरोनाबाट ग्रामीण भेगका मानिस प्रभावित भएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए।

जिल्लाका मालिका, मंगला, रघुगंगा, धौलागिरि र अन्नपूर्ण गाउँपालिकाका नागरिकमा पनि कोरोनाका संक्रमण बढ्दो मात्रामा रहेका स्थानीय तहका प्रमुखहरूले बताएका छन्।

धेरै लक्षणहितका बिरामी बढिराखेका रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए। कोरोना

संक्रमणपश्चात् उपचारका क्रममा बेनी अस्पताल, पोखरालगायतमा मृत्यु हुनेमा पनि प्रायः सबैजसो ग्रामीण क्षेत्रका छन्।

पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। उनले गाउँमा बिरामीहरू बढिराखेको रसमयमा परीक्षण नहुँदा, परीक्षण भएकाहरूको पनि रिपोर्ट समयमा नआउँदा धेरै संक्रमणको जोखिम बढेको बताए।

‘कोरोना निकै फैलिन थालेको छ, गाउँमा मानिस बिरामी पर्न थालेको धेरै लामो समय भएको छैन, वैशाखमा बिहे भोज भतेर भयो, भीडभाड हुने गतिविधिमा सबै गाउँले सहभागी भए,’ उनले भने, ‘त्यसबाटै सर्वत्र कोरोना संक्रमण फैलिन थाल्यो, अहिले गाउँमा धेरै मानिस बिरामी छन्।’

त्यस्तै, रघुगंगा र धौलागिरि गाउँपालिकामा पनि कोरोना तीव्र रुपमा फैलिएको स्थानीयले बताएका छन्।

गाउँपालिकाका विभिन्न गाउँमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका अधिकांशमा संक्रमण पुष्टि भएको स्थानीय बताउँछन्।
पछिल्लो साताको अवस्थालाई हेर्दा गाउँमा कोरोना संक्रमण निकै तीव्र गतिमा फैलिएको पाइएकोे कोरोना नियन्त्रण अभियानमा सक्रिय बेनी अस्पतालका प्रमुख डा। जितेन्द्र कुँवरले बताए।

गाउँ–गाउँमा संक्रमित बढ्न थालेपछि स्थानीय जनप्रतिनिधि चिकित्सकसहित गाउँ–गाउँमा पुग्न थालेका छन्।
उनीहरूले स्वास्थ्य सामग्री, औषधि र संक्रमितका लागि पोषिलो खानेकुरासमेत लिएर बिरामीको घरदैलोमा पुगेपछि संक्रमितमा आत्मबल बढेको पाइएको छ।

‘हामी कोरोना संक्रमितको अवस्था बुझ्न र उनीहरूलाई स्वास्थ्य परामर्श र औषधि प्रदान गर्ने अभियान लिएर संक्रमितको घरदैलोमै पुगेका छौँ,’ बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने।

दुई सातायता जिल्लाका ग्रामीण क्षेत्रमा संक्रमणको दर यसरी बढे पनि सदरमुकाम बेनी बजारमा भने संक्रमण दर घटेको छ।
संक्रमण दर घट्नुमा वैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्यहरूको विश्लेषण छ।

कुल २१ हजार ६६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार ११५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८२० हेक्टरमा तरकारी र ६३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांक छ।

कोरोनसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइँदैन भने मास्क र स्यानिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) लम्ब्याएको छ।

प्रतिक्रिया दिनुहोस