कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन स्थापना

रासस

आइतबार, १६ जेठ २०७८, १० : ३७
कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन स्थापना

file Photo

कास्की । कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् ।

पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छे« गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित १ सय १५ छन् । नौ वडा रहेको गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा मात्र ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गत वर्ष कोरोनाको पहिलो चरणमा यस गाउँपालिकामा एक÷दुई जनामा मात्र सङ्क्रमण पुष्टि भएको थियो । शहर कोरोनाको ‘हटस्पट’ हुँदासमेत गाउँमा खासै सङ्क्रमण बढेको थिएन तर यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरले गाउँगाउँमा सङ्क्रमण बढेको छ । गत वैशाख १५ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू भएकामा निषेधाज्ञाको अवधिमा गाउँमा सङ्क्रमण ह्वात्तै बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

गाउँपालिकामा लक्षणसहितका सङ्क्रमित बढेसँगै अस्पतालमा उपचारको पहुँच अभिवृद्धि गर्नु र परीक्षणको दायरा बढाउनुु चुनौती रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए । उनले भने, “गत वर्ष कोरोनाको सङ्क्रमण शहरमा बढी थियो, गाउँमा खासै प्रभाव परेको थिएन तर अहिले भने हामीलाई सङ्क्रमण फैलावट रोक्न ठूलो चुनौती थपिएको छ ।” लक्षण देखिएका बिरामीसमेत परीक्षणका लागि नआउने र स्वास्थ्य मापदण्डको पालना नगर्दा गाउँमा सङ्क्रमण बढेको आचार्य बताउँछन् । माछापुच्छे« सार्दिखोला स्वास्थ्यचौकीमा पनि १० शय्याको आइसोलेशन सञ्चालनमा आएको छ । 

पोखरा महानगरपालिका र जिल्लाका अन्य चारवटा गाउँपालिकामा पनि सङ्क्रमण फैलिएपछि स्थानीय तहले आइसोलेशन सेन्टर निर्माण शुरु गरेका छन् । कोरोनाका बिरामीको आधारभूत उपचार गर्न अक्सिजनसहितको आइसोलेशन अस्पताल व्यवस्थापनमा स्थानीय सरकार जुटेका हुन् । कतिपय स्थानीय तहले नयाँ आइसोलेशन थप गर्दै गएका छन् भने विगतका आइसोलेशनकक्षहरूको क्षमता वृद्धि गर्न लागेका हुन् ।

माछापुच्छे«ले वडा नं ८ स्थित भेँडाबारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा १३ शय्याको अक्सिजनसहितको आइसोलेशन निर्माण शुरु गरेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका तीन चिकित्सकको प्रत्यक्ष निगरानीमा आइसोलेशनमा बिरामीको उपचार गर्ने योजना गाउँपालिकाको छ । गाउँपालिकाका अधिकांश सङ्क्रमित होमआइसोलेशनमा रहे पनि जटिल स्वास्थ्य अवस्थाका बिरामी पोखरामा उपचार गराइरहेका छन् ।

“सङ्क्रमितको प्राथमिक उपचार पालिकामै गर्र्ने र घरमा एकान्तबास भएर बस्न नसक्ने र स्वास्थ्यकर्मीको निगरानीमा बस्छु भन्नेहरूलाई लक्ष्य गरेर आइसोलेशन निर्माणको अन्तिम चरणमा छौँ”, उपाध्यक्ष दबाडीले भने, “गम्भीर अवस्थाका सङ्क्रमितलाई भने पोखरा सिफारिस गर्नुको विकल्प छैन ।” मादी गाउँपालिको गत वर्ष नै थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको आइसोलेशन तयार गरेको थियो । गत वर्ष सोको त्यति उपयोग नभए पनि यसपटक भने सङ्क्रमित बढेपछि शय्या अभाव भयो ।

गाउँपालिकामा पछिल्लोपटक ११६ कोरोनाका सक्रिय सङ्क्रमित छन् । सङ्क्रमण फैलावट बढ्दै जाँदा थप १५ शय्या विस्तार गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए। उनका अनुसार केही दिनअघिको गाउँकार्यपालिका बैठक र स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयानुसार शय्या विस्तारका लागि आवश्यक सामग्री व्यवस्थापन भइरहेको छ । 

उनले भने, “लक्षण नभएका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामी होमआइसोलेशनमा हुनुहुन्छ । चिकित्सको निगरानी आवश्यक पर्ने र केही असहज भएकाहरूलाई आइसोलेशनमा राखिएको छ भने गम्भीर खालका बिरामीलाई पोखरा पठाउने गरेका छौँ ।”

स्वास्थ्य उपकरण, जनशक्ति व्यवस्थापनलगायतका समस्याका कारणले पनि जटिल अवस्थाका सङ्क्रमितलाई पोखरा पठाउने गरिएको बताइन्छ । गाउँपालिकाले कोभिडका बिरामीको उपचारका लागि छुट्टै चिकित्सक व्यवस्था गरेको छ । मादीमा १२ वडा रहेकामा कोरोनाका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजानका लागि दुईवटा एम्बुलेन्स निःशुल्क परिचालन गरेको छ ।

भौगोलिकरूपमा देशकै ठूलो पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाकाले भवनमा १०० शय्याको कोभिड अस्पताल निर्माण गरेको छ । महागनरमा कोरोनाका बिरामी बढ्दै गएको र अस्पतालमा शय्या अभाव हुन थालेपछि महानगरले लान्यस क्लबहरूसँगको सहकार्यमा अक्सिजनसहितको अस्पताल निर्माण गरेको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले शय्याहरूमा अक्सिजन जडानलगायतका काम सम्पन्न गरेर आगामी बुधबारदेखि बिरामी भर्ना गर्न शुरु गरिने जानकारी दिनुभयो । महानगरले १० दिनको अवधिमा सो अस्पताल निर्माण र स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरिएको जनाएको छ । अन्नपूर्ण गाउँपालिकाले पनि पाँच शय्याको कोभिड अस्पताल स्थापना गरेर सङ्क्रमितको उपचार शुरु गरेको छ । सो आइसोलेशनमा अक्सिजनलगायतको सुविधा रहेको र २४सै घण्टा चिकित्सको निगरानीमा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको बताइन्छ । रुपा गाउँपालिकाले पनि रुपाकोट अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बिरामीको उपचार र घरघरमै गएर परीक्षणको दायरालार्ई फराकिलो बनाएको अध्यक्ष नवराज ओझाले बताए ।

गाउँपालिकाका सम्पूर्ण स्वास्थ्यचौकीमा कोभिडको नियमित स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यचौकीमा उपचार हुन नसकेमा गाउँपालिकाको अस्पतालमा सिफारिसका लागि एम्बुलेन्स सुविधा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । जिल्लाका स्थानीय तहले स्थापना गरेको आइसोलेशन अस्पतालमा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि यसअघि प्रदेश सरकारले रु पाँच लाख तथा जिल्ला समन्वय समितिले रु १० लाखका दरले सहयोग रकम विनियोजन गरेका थिए ।

जिल्लाका स्थानीय तहले आफ्नै बजेट र साधन स्रोतबाट कोभिड–१९ का विरुद्ध उपचार, एम्बुलेन्स व्यवस्थापन र स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस