अबको १५ दिनभित्र खोप खरिदबारे टुंगो लाग्छ : परराष्ट्रमन्त्री ज्ञवाली

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १५ : २२
अबको १५ दिनभित्र खोप खरिदबारे टुंगो लाग्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा खोप खरिदबारे टुंगो लाग्ने बताएका छन् । खोप खरिदका लागि सरकारले गरिरहेको पहलमा सकारात्मक जवाफ आएको भन्दै उनले खोप आउने आशा बढेको बताए ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग घोषणा गर्ने प्रतिबद्धता जनाएकाले १५ दिनमा ‘ब्रेक थ्रू’ हुने दावी गरे ।खोपका लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागि मन्त्री ज्ञवालीले प्रष्ट्याए । त्यसका लागि अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ ।

अमेरिका, बेलायत लगायतका देश खोप दिन सकारात्मक रहेको भन्दै उनले भने, ‘सन् २०२१ को अन्तिमसम्म लक्षित समूहलाई खोप दिने लक्ष्यअनुसार विभिन्न देशमा पहल गरिरहेका छौं ।’

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोप जुन २ तारिखमा काठमाडौं आइपुग्नेछ । चीन र नेपालका राष्ट्रपतिबीच सम्वाद भए लगतै चीनले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो, जसको दोस्रो डोज छुटेकाहरुले अहिले लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस