पोखरामा अक्सिजनको अभावमा एकजना सुत्केरी सहित ७ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, ०९ : ४३
पोखरामा अक्सिजनको अभावमा एकजना सुत्केरी सहित ७ जना कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा अक्सिजनको अभावमा उपचाररत ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारत ज्यान गुमाउनेहरूमा शनिबार शल्यक्रियाबाट सुत्केरी भएकी एक महिला समेत रहेकी छिन् । अन्य मृतकहरुमा डायलोसिस गरिरहेका, कलेजोमा समस्या भएर उपचाररत र अर्का १ जना डायबिटिजको  बिरामी रहेका छन् । 

मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १,१ जना रहेको अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकले बताए। ‘हामीले अक्सिजन दिएका थियौं, अक्सिजन अभाव भएपछि बिरामीका आफन्तले पनि खोजेर ल्याउनुभएको थियो’, उनले भने, ‘अक्सिजन नपाएर मात्रै मृत्यु भएको भन्नेचाहिँ होइन।’

उनका अनुसार हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई ५ मिनेटमात्रै अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई संकट पर्छ। हाइफ्लोमा अक्सिजन दिँदा बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुने उनले बताए।

यता, बिरामीका कुरुवाले भने अक्सिजन नपाएरै आफ्ना बिरामीको ज्यान गएको बताएका छन्। गएराति बिरामीले अक्सिजन २०(२५ मिनेट पाउने र त्यसपछि आधा घन्टासम्म नपाउने अवस्था भएको एक कुरुवाले बताए। अक्सिजन नलगाई बाँच्‍न नसक्ने बिरामीको मृत्यु भएको उनको भनाइ छ। अस्पताल प्रशासनले अक्सिजनको अभावका कारण मृत्यु भएको भनेर बाहिर नभन्न डाक्टरसहित अस्पताल कर्मचारीलाई निर्देशन दिएको एक डाक्टरले बताए।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार दिउँसो ४ बजेदेखि अक्सिजनको अभाव हुन थालेको थियो। अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालले अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बताए।
 

प्रतिक्रिया दिनुहोस