कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा

एजेन्सी

शुक्रबार, १४ जेठ २०७८, ०८ : १७
कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा

एजेन्सी ।  भारतीय चिकित्सा संघ (आईएमए) ले भारतीय चर्चित योगा गुरु रामदेव विरुद्ध प्रहरी समक्ष उजुरी दिएको छ । एलोपेथीको बारेमा अफवाह फैलाएको आरोपमा आईएमएले बिहीबार उनी विरुद्ध उजुरी दिएको हो । योग गुरु रामदेवले जानाजान गलत, निराधार र द्वेषयुक्त अफवाह फैलाएकोले उजुरीमार्फत् उनीविरुद्ध कारवाहीको माग गरिएको छ ।

रामदेवले कोभिड संक्रमितहरुको उपचारमा एलोपेथी विधि उपयुक्त नभएको र आफूले यसको निदान गर्नसक्ने भन्दै केही दिनदेखि सार्वजनिक रुपमा नै प्रचारवाजी गर्दैआएका थिए । एलोपेथी उपचार विधिबारे विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा समेत व्यापक रुपमा फैलिएका छन् ।

दिल्लीका वरिष्ठ प्रहरी अधिकारीका अनुसार रामदेव विरुद्ध उजुरी परेको र यसबारे अनुसन्धान सुरु गरिएको छ । रामदेवले भने उक्त उजुरीलाई लक्षित गर्दै आफूलाई कसैले पक्राउ गर्न नसक्ने भन्दै चेतावनी दिएका छन् ।

आईएमएले यसअघि नै रामदेव विरुद्ध कारवाही गर्न प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष माग गरेको थियो । कोभिड विरुद्धको खोपबारे सरकारी मापदण्डलाई समेत रामदेवले मिचेको भन्दै उनीमाथि कारवाही हुनुपर्ने वरिष्ठ चिकित्सकहरुले बताउँदै आएका छन् ।

रामदेवले विवादास्पद अभिव्यक्तिबारे माफी माग्नुपर्ने र १००० करोड क्षतिपुर्ति दिनुपर्ने पनि माग गरिएको छ । भारतमा दोस्रो लहरको कोरोना संक्रमण व्यापक रुपमा फैलिएर लाखौँ संक्रमित हुनुका साथै एकै दिन ४ हजारको मृत्यु भइरहँदा रामदेवले यसको खोपविरुद्ध अभिव्यक्ति दिएका हुन् ।

भारतमा यसअघि पनि विभिन्न राजनीतिक दलका नेता तथा प्रवुद्ध व्यक्तिहरुले गाईको गहुँतको सेवन गर्नाले कोरोना संक्रमण नहुने जस्ता विवादास्पद अभिव्यक्ति दिँदैआएका थिए ।

प्रतिक्रिया दिनुहोस