पाल्पा । जिल्लाकै दुर्गम र विकट रहेको निस्दी गाउँपालिकाको हात्ती भन्ज्याङ—लिन्दी मोटरबाटो निर्माण कार्य सकिएको छ ।
पूर्वी पाल्पाकै चासोको विषय बनेको यस सडक निर्माण कार्य सकिएपछि यहाँका स्थानीयवासीमा खुशी छाएको छ ।
निस्दी गाउँपालिकाको रु ५५ लाख, निर्वाचन क्षेत्र विकास कोषको रु ४२ लाख, साविक जिल्ला विकास समितिको रु पाँच लाख, स्थानीयवासीको जनश्रमदानबाट रु १५ लाख गरी कूल रु एक करोड १७ लाखको लागतमा मोटरबाटो निर्माण कार्य सकिएको बाटो उपभोक्ता समितिका अध्यक्ष मनबहादुर रानाले बताउनुभयो ।
विसं २०७२ देखि काम शुरु गरेर हाल नयाँ सडक निर्माण तथा पुराना सडकको स्तरोन्नतिको काम सकिएपछि यातायातका साधन नियमित सञ्चालन हुन थालेको अध्यक्ष रानाले बताउनुभयो । रामपुर बजारदेखि गाउँसम्म नियमित सडक सञ्चालन गर्न यहाँका करीब ३०० स्थानीयवासीले जनश्रमदान गरेका छन् ।
सहलकोट, मित्याल, झिरुवास हँुदै नवलपरासीको दुम्कीवाससम्म सडक जोडिएपछि यहाँका स्थानीयवासीलाई तराई क्षेत्रसम्म आवतजावत गर्न सजिलो भएको छ । यसरी सिधै नवलपरासीको दुम्कीवाससम्म सडक जोडिएपछि छोटो दूरीमा गन्तव्यसम्म पुग्न पाइने भएपछि यहाँका स्थानीयवासी निकै हर्षित भएको प्रेम बाकाबलले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस