काठमाडौँ। नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन् ।
शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले आफू मन्त्रिपरिषद्मा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर आफू मन्त्री बनेको बताए ।
‘नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । यो मुलुक हाम्रो हो । हामीले जति खालि राख्छौँ त्यति समस्या हुन्छ । हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ । हरेक राजदूतहरूको आफूले विभिन्न मुलुकमा गरेका कामहरू हेरिएको होला । त्यसरी नै काम गरिएको होला भन्ने विश्वास छ,’ उनले भने ।
निर्वाचनको सम्बन्धमा छिमेकी देशहरूसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने उनले बताए । मित्र राष्ट्रहरूसँगको सम्बन्ध सकारात्मक रूपमा अघि बढाउने प्रतिबद्धता पनि जनाए ।
‘मैले छिमेकी देशहरूसँग सकारात्मक रूपमा भूमिका खेल्छु । उनीहरू उदीयमान देश हुन् । सहकार्य गर्दै अघि बढ्न सकिन्छ । अहिले मुलुक चुनावमय भइसकेकै छ । गति लिइसकेको छ । चुनावमा मन्त्रालयले छिमेकी र कुनै देशसँग सहकार्य गर्नुपर्ने रहेछ भने सही तरिकाले उठान गर्नेछ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, १६ : ४२
लेखकबाट थप