एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक जारी

विहीबार, २२ चैत्र २०७४, ११ : ०४
एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक जारी

काठमाडौँ । एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा कार्यदलमा मिलाउन बाँकी विषयमा छलफल गरी सहमति जुटाउने प्रयास गर्ने नेताहरुले बताएका छन् ।

कार्यदलस्तरमा एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य वा सूर्यभित्र हसियाँ–हथौडा, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने वा नराख्ने भन्ने विषयमा सहमति जुटेको छैन । त्यस्तै केन्द्रीय समितिमा कुन पार्टीका कतिजना राख्ने भन्नेमा पनि विवाद छ ।

एकीकृत पार्टीको केन्द्रीय समिति २९९ बनाउने यसअघि नै निर्णय भैसकको छ । विवाद रहेका यी विषयमा संयोजन समितिले टुङ्गो लगाउने नेताहरुले बताउँदै आएका छन् । माओवादी नेताहरुले सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने बताउँदै आएको छ भने एमलेले सूर्य मात्रै राख्ने अडान लिएको छ ।

आगामी वैशाख ९ गते पार्टी एकीकरण घोषणा गर्ने तयारीमा रहेका दुवै दलले सकेसम्म यी विषयमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जानुअघि नै सहमति जुटाउने प्रयास गर्ने बताउँदै आएका छन् ।
पार्टी एकताको निर्णय अनुमोदन गर्न एमालेले बैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय समितिको बैठक तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस