साहित्यकार डा गिरिको निधन

रासस

सोमबार, १० जेठ २०७८, १४ : ०९
साहित्यकार डा गिरिको निधन

काठमाडौँ । आफूलाई मानवतावादी र प्रकृतिवादी भनेर चिनाउन रुचाउने लेखक वानीरा गिरिको हृदयघातका कारण आइतबार राति निधन भएको छ ।

CG Developers Tansen Cement box

झण्डै ३ वर्षयता अल्जाइमर्स रोगबाट ग्रसित भएर घरमै आपत्कालीन स्वास्थ्य सेवा लिइरहेकी वानीरालाई ३ साताअघि कोरोना पोजिटिभसमेत देखिएको र आइतबार राति हृदयघातको आशंकामा निजामती अस्पताल लगिएको थियो । गिरिमा कोरोना संक्रमणसमेत यथावतै रहेकाले उनको अन्तिम संस्कारको जिम्मेवारी नेपाली सेनाले लिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

७६ वर्षीया गिरि उपन्यास, कविता र निबन्ध लेखनमा फरक दृष्टिकोण तथा शैलीका कारण नेपाली साहित्यमा चिनिएकी थिइन् । उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन:थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविता संग्रहहरु प्रकाशित छन् । उनले ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि २०५६ सालको साझा पुरस्कार पाएकी हुन् ।कवि गोपालप्रसाद रिमालका कवितामाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी गिरिले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन् । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला पनि हुन् ।

भारतको खर्साङमा जन्मे–हुर्केकी वानीरा उच्च शिक्षा लिने अवसरमा काठमाडौं आएकी थिइन् ।आफूलाई रमाउन जान्ने र हासमुख लेखकका रुपमा स्वमूल्यांकन गर्ने वानीराले आफ्नो जीवनमा बीपी कोइरालाको ‘तीन घुम्ती’ र लियो टोल्सटोयको ‘अन्ना करेनिना’ उपन्यासलाई शैली र लेखन प्रेरणाका कृति मान्ने गरेको बताउँथिन् ।

साहित्यकार ध्रुवचन्द्र गौतमले ‘नेपाली साहित्यिक आकाशमा सशक्त र अनुकरणीय शब्दशिल्पी भएकी स्रष्टा वानीरालाई उनका सिर्जनाले सधैं बँचाइरहने’ बताएका छन् ।