दश दिनसम्म पिसिआर रिपोर्ट नआउँदा समस्या

रासस

आइतबार, ०९ जेठ २०७८, १५ : ४७
दश दिनसम्म पिसिआर रिपोर्ट नआउँदा समस्या

पर्वत ।कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ । गत वैशाख २८ गतेदेखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा छन् ।

कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार एक हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् । उनले कुनै उपाय नदेखेपछि फेसबुकमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । सङ्क्रमितको आशङ्कामा परीक्षण गरिएको रिपोर्टको नतिजा ढिलो आउँदा आफूहरु अन्योलमा रहेको सापकोटाले बताए । 

प्रयोगशालाले ढिलो रिपोर्ट दिँदा कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहने सापकोटाको गुनासो छ ।सङ्क्रमणको आशङ्का गरिएकाहरु समुदायमा घुलमिल भइसके । अलिअलि रुघाखोकी लागेका पनि निको भइसकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना सङ्क्रमित भएको १० दिनपछि एकले अर्कोलाई सर्दैन र गम्भीर लक्षण पनि देखिँदैन भनेर भनेको छ ।सातदेखि १० दिनअगाडि पठाएका स्वाबको नतिजा अब आउँदा पोजेटिभ आयो भने उनीहरु सङ्क्रमितसरह मानिने कि नमानिने बहसको विषय बनेको छ ।
 

प्रतिक्रिया दिनुहोस