राजनीतिक आकाशबाट बादलको पतन

पत्रपत्रिकाबाट

शुक्रबार, ०७ जेठ २०७८, ०७ : २३
राजनीतिक आकाशबाट बादलको पतन

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकता बदर गरिदिएसँगै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेतिर लागेपछि रामबहादुर थापा ‘बादल’ लाई बिहीबार एकैदिनमा दुईवटा चोट परेको छ ।

दल त्याग गरेका कारण गैरसांसद हुनुभएका बादललाई मन्त्रीको हैसियतमा काम नगर्न-नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै दिन हेटौंडामा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि उहाँ पराजित हुनुभएको छ ।

राष्ट्रिय सभा सदस्य पदमा कुल ५ हजार ८८ मतभार प्राप्त गरी नेकपा एमाले निकट डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । थापाले कुल ४ हजार १४ मत प्राप्त गर्नुभएको थियो । डा. देवकोटा वागमती प्रदेश नीति योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ ।

उहाँले २ वर्ष उपाध्यक्ष भएर काम गर्नुभएको थियो ।स्थानीय तहमा देवकोटाले १ सय २८ मत पाउँदा बादलले १ सय ३ मत मात्र पाउनुभयो । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत पाउनुभएको थियो ।

डा. खिमलालले पाउनुभएको १ सय २८ मतको मतभार २ हजार ३ सय ४ हुन्छ भने बादलले पाउनुभएको मतको मतभार १ हजार ८ सय ५४ हुन्छ । नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस