कोरोना कहर : तिन दिनमा ३ सहोदर दाजुभाईको मृत्यु, घटना सुनेर दिदी पनि रहिनन्

विहीबार, ०६ जेठ २०७८, ०८ : २८
कोरोना कहर : तिन दिनमा ३ सहोदर दाजुभाईको मृत्यु, घटना सुनेर दिदी पनि रहिनन्

नेपालगन्ज । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाए। 

जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इम्तियाजको लन्ड्री पसल छ। २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए। २४ वैशाखमा इम्तियाजले पनि संसार छोेडे। ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु भयो। 

हट्टाकट्टा, खासै रोग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको निधनले सुनारमण्डी टोल शोकमा डुब्यो। खबर नगरमा सनसनीपूर्ण रूपमा फैलियो। कोरोना केही पनि होइन भन्ने सबैलाई अहिले स्तब्ध बनाएको छ। झस्काएको छ। घटनाको झन्डै दुई सातासम्म पनि टोल शोकाकूल छ। अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन्। मृत्युको खबरले आफन्त धेरैले रोजा पूरा गर्न सकेनन्। इस्लाम धर्ममा बिरामी, अशक्त र बालबालिकालाई रोजा नगर्न पनि छुट हुन्छ।

नेपालगन्जको सदरलाइनमा एकलैनी जाने बाटोको ठीक पश्चिमको गल्ली हुँदै ५० मिटरको दूरीबाट उत्तरमा जाँदा हल्वाइ परिवारको मिनी कोलोनी जस्तो घर आउँछ। २ कठ्ठाभन्दा बढी क्षेत्रफलमा वरिपरि सात भाइका २ देखि ३ तले ७ वटा घर छन्। छतहरू सबै जोडिएको एउटै गोल घर जस्तो देखिन्छ। एउटा घरमा कम्तीमा चारदेखि बढीमा ९ कोठा छन्। चारैतिर घर र बीचमा झन्डै १० धुर जति सबैको साझा आँगन छ। चारैतिर घर नै घर भएकाले पर्खाल लगाउनु परेको छैन। सबैका लागि एउटै मूल गेट छ। जहाँ अल्लाह कम्प्लेक्स लेखिएको छ। 

यही कोलोनीमा ७ भाइका छोराछोरी, नातिनातिना गरी ३५ जनाको परिवार बस्छ। सदरलाइनमा पुस्तौंदेखि बस्दै आएको यो परिवार सुनारमण्डीमा भने १२ वर्षअघि सबैै भाइको एउटै थलोमा घर बनाएर बस्न थालेको थियो। मंगलबार अपराह्नतिर संवाददाता पुग्दा यो बडेमानको घर पनि सुनसान थियो। मृतकका भतिजो (जेठो दाइ हाजी सब्बिरका कान्छा छोरा) सरप्राज मेहमुद मूलद्वारमा भेटिए।

उनले दाइ सहनाज आदिल (माइलो बुवाको छोरा) लाई कुरा गर्न बोलाए। सहनाजले साइलो काका रियाज अहमदलार्ई डाके। ३ तले घरको दोस्रो तलाको उत्तरतर्फको झ्यालबाट उनले हेरिरहे। तल उनी आउन मानेनन्। मात्र चिहाइरहे। संवाददाताले बोलाउँदा पनि उनी तल झरेनन्। पत्रकार भनेपछि बरु झ्यालबाटै कुरा गर्न राजी भए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस