निःशुल्क उपचारका नाममा संक्रमितसँग मनपरी असुली

पत्रपत्रिकाबाट

मंगलबार, ०४ जेठ २०७८, ०८ : १६
निःशुल्क उपचारका नाममा संक्रमितसँग मनपरी असुली

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा कार्यरत नमिता निरौलालाई गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भयो। उपचारका लागि भोलिपल्ट विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भइन्। प्रदेश १ सरकारले सञ्चालन गरेको यो अस्पतालमा एक्स–रे मेसिन बिग्रिएको थियो। चिकित्सकले रेम्डेसिभिर नामक औषधिको आवश्यकता देखाइदिए पनि अस्पतालमा थिएन।  

कोसीमा असहज भएपछि निरौला थप उपचारका लागि वैशाख १४ गते नोबेल शिक्षण अस्पताल भर्ना भइन्। तर डिस्चार्ज पाएपछि गत शुक्रबार घर फर्कनुअघि अस्पतालले उपचारवापत भएको खर्चभन्दै थमाएको बिल देख्दा उनी छाँगाबाट खसेजस्तै भइन्। अस्पतालले उनलाई दुई हजार पाँच सय रुपैयाँका दरले १९ सेट पीपीई किन्न लगाइएको रहेछ। ‘मलाई सहयोग गर्ने आफन्त विराटनगरमा कोही पनि थिएनन्।

अस्पतालले नै भनेर जस्मिन फार्मेसीले औषधिदेखि लिएर अन्य स्वास्थ्य सामाग्रीको व्यवस्था गरिदिएको हो,’ उनले भनिन्, ‘पछि बिल हेर्दा १९ सेट पीपीई किन्न लगाइएको रहेछ। खाना, अस्पतालको चार्ज, पीपीई र औषधिसहितको सबै गरेर ८७ हजार रुपैयाँको चेक थमाइदिएर अस्पतालबाट विदा भएँ।’

निरौलाका अनुसार उपचारका क्रममा अस्पतालले मोबाइल पनि खोसेर राखिदियो। ‘आफन्त कोही नभएकाले खाना मगाउनलाई फोन गर्नुपर्छभन्दा पनि मोबाइल दिएनन्,’ उनले भनिन्, ‘अस्पताल बसुन्जेल फोन गरेर टाढा भएका आफन्तलाई स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनसमेत पाइनँ।’

सरकारसँग भएको सम्झौताअनुसार निःशुल्क उपचार हुनेमा उनी ढुक्क थिइन्। तर अस्पतालबाट उनले रेम्डेसिभिर औषधि पनि पाइनन्। उनले प्राप्त गरेको बिलअनुसार पीपीई लगायतका लागि ६० हजार सात सय १५ रुपैयाँ खर्च भएको देखिन्छ। खरिद गर्न लगाइएको ग्लोब्स, सेनिटाइजर, फेस सिल्ड, मास्क लगायतका सामाग्रीको मूल्य पनि त्यहीँभित्र समेटिएको निरौलाले बताइन्।  अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस