लुम्बिनी प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १६ : ०३
लुम्बिनी प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु भएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्मको अवधिमा प्रादेशिक अस्पतालको आकस्मिक र कोरोना अस्पतालको आइसियुमा ६ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दुई जना रुपन्देही, दुई जना गुल्मी, एक जना पश्चिम नवलपरासी र एक जनाको ठेगाना खुलेको छैन। रुपन्देहीको तिलोत्तमा ५ का ६० वर्षीय पुरुषको आइतबार बिहान साढे ८ बजे प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। तिलोत्तमाकै ४ का ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो।

गुल्मीको सत्यवती ५ का ४५ वर्षीय पुरुषको विहान सवा ५ बजे र गुल्मीको इस्मा ४ का ४५ वर्षकै पुरुषको विहान पौने ९ बजे प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो।

पश्चिम नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको दिउँसो १२ः४० मा कोरोना अस्पतालको आइसियुमा निधन भएको छ। विहान ९ बजे मृत्यु भएका एक पुरुषको भने ठेगाना नखुलेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए।