काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा हालै देखिएको फोहोरमैलाको समस्या समाधानको बाटोमा गएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र हालैका आन्दोलनका कारण सिर्जित फोहोरले व्यवस्थापनमा केही असहजता ल्याएपनि महानगरले अल्पकालीन र दीर्घकालीन दुवै समाधानका काम सँगसँगै अघि बढाएको उहाँले स्पष्ट पार्नुभएको हो । लामो समयसम्म फोहोर नउठेर आलोचना खेप्नुपरेको भन्दै मेयर आचार्यले चुनावको मुखैमा फोहोर उठ्न नसक्नुको मुख्य कारण साउन–भदौसम्म पुग्ने अनुमान गरिएको अस्थायी विसर्जन केन्द्र ‘जेनजी मुभमेण्ट’ (आन्दोलन) का कारण छिट्टै भरिएको थियो । मेयर आचार्यले चुनावको समयमा नयाँ ठाउँ खोज्न र व्यवस्थापन गर्न कठिन भएपनि गत ३० गतेबाट नयाँ अस्थायी विसर्जन केन्द्र तयार गरी फोहोर उठाउन थालिएको र अब पोखरा पुरानै अवस्थामा सफा हुने उनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आन्दोलनमा ११८ वटा सरकारी भवनहरू डढे, भाटभटेनीलगायत निजी क्षेत्रका सयौँ ट्रक डढेका र अधकल्चा सामानहरू फोहोरको रूपमा आए, जसले गर्दा फोहोर फाल्ने ठाउँ अनुमानभन्दा धेरै छिटो भरियो ।’
दीर्घकालीन समाधानका लागि महानगरले ‘फोहोरबाट मोहोर’ को अवधारणाअन्तर्गत काम शुरु गरिसकेको छ । पोखरामा दैनिक करिव २२५ टन फोहोर उत्पादन हुने गरेको तथ्यांक प्रश्तुत गर्दै मेयर आचार्यले यसबाट साढे ७ मेगावाट बिजुली बराबरको ऊर्जा उत्पादन गर्न सकिने बताउनु भयो । यसका लागि युरोपियन प्रविधि प्रयोग गरी एलपिजी ग्यास (शुरुमा सिएनजी), कम्पोस्ट मल र निर्माणका ब्लकहरू उत्पादन गर्न अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएन) हरूको टोलीलाई गत मङ्सिर ९ गते ठेक्का दिइसकिएको छ ।
‘अबको ६ देखि ८ महिनाभित्रै मेसिनरी जडान गरी १ वर्षभित्रमा नेपालकै नमूना फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आउनेछ । यो टिकट काटेर हेर्नलायक बन्नेछ ।’ उहाँको दाबी छ ।
विमानस्थलका कारण पुरानो ल्याण्डफिल साइट सार्नुपरेको बाध्यता
यसअघि एशियाली विकास बैंक (एडिबी) को सहयोगमा १९ वर्षअघि निर्माण गरिएको अत्याधुनिक सेनेटरी ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चराहरूको जोखिम कम गर्न बन्द गर्नुपरेको थियो । सन् २०२३ जनवरी १ बाट विमानस्थल शुरु भएपछि वडा नम्बर ३२ को लामेआहालमा अस्थायी व्यवस्थापन गरिँदै आइएको थियो ।
फोहोरमा राजनीति नगर्न आग्रह
मेयर आचार्यले फोहोरमैलामा राजनीति नगर्न र अनावश्यक टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘आफ्नो घर अगाडिको फोहोर उठ्नुपर्छ भन्ने तर आफ्नो वडामा फाल्न नदिने प्रवृत्ति जतासुकै छ । शहर सफा राख्ने दायित्व हामी सबैको हो ।’
हाल फोहोर विसर्जन भइरहेको नयाँ स्थानमा मानव स्वास्थ्य र पर्यावरणमा कुनै असर नपर्ने गरी प्राविधिक व्यवस्थापन गरिएको प्रतिवद्धतासमेत उनले जनाएका छन् । पोखरा देशकै सबैभन्दा सफा शहर भएको र यसलाई कायम राख्न महानगरका सयौँ कर्मचारी दैनिक खटिरहेको स्मरण गराउँदै उनले पोखरेलीहरूको आफैँ सडक सफा गर्ने पुरानो संस्कृतिको समेत प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ चैत्र २०८२, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह