चितवन समाज क्यानडाद्धारा भरतपुर अस्पताललाई पीपीई र फेस शिल्ड सहयोग

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १२ : ३४
चितवन समाज क्यानडाद्धारा भरतपुर अस्पताललाई पीपीई र फेस शिल्ड सहयोग

चितवन । चितवन समाज क्यानडाले वढ्दो कोरोना महामारीविरुद्धको लडाईमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुका लागि पीपीई र फेस शिल्ड सहयोग गरेको छ । चितवन र गैँडाकोट जन्मथलो भई क्यानडामा बसोवास गर्दै आएका नेपालीहरुले पठाएको उक्त स्वास्थ्य सामाग्री  भरतपुर सरकारी अस्पतालमा गएर अध्यक्ष डा. भोजराज अधिकारीलाई समाजका प्रतिनिधि केशवप्रसाद सापकोटाले हस्तान्तरण गरेका हुन् । 

सापकोटाका अनुसार पुन प्रयोग गर्न मिल्ने २५० थान पीपीई र २५० थान नै फेस शिल्ड सहयोग गरिएको हो । जन्मभूमिबाट टाढा रहेपनि यो महामारीमा संक्रमितसँगै रहेर उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुनै सुरक्षित भएनन् भने अझ कठिन समय आउन सक्नेतर्फ सचेत हुँदै यी सामाग्री सहयोग गरेको सापकोटाको भनाई थियो । विमला सापकोटा, ढुण्डी पाण्डे, पूर्ण कडेंल, देवेन्द्र सुवेदीको ठूलो सहयोग सहित अन्य दाताहरुको सक्रियताले सामाग्री सहयोग गर्न पाएको जानकारी दिए।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जन्मथलोबाट टाढा रहेर पनि स्वस्फूर्त रुपमा अस्पताललाई प्राप्त यो सहयोगले महामारी विरुद्ध लड्न थप हौसला मिलेको बताए । हेल्थ हिरोजहरुलाई मिलेको यो सामाग्रीले उपचारमा थप सहयोग मिल्ने र सामाग्री व्यवस्थापनमा निषेधाज्ञाले समस्या बनाइरहेको बेला प्राप्त पीपीइ र फेस शिल्डले उपचारमा सहज हुने बताए ।

कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. जगन्नाथ तिवारीले अत्यन्त महत्वपूर्ण कार्यको थालनी गरेको भन्दै समाजप्रति आभार व्यक्त गरे । अन्य व्यवस्थापन अस्पतालले गरिरहेको भएपनि महामारीमा धेरै स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पीपीई,फेस शिल्डको अभाव भइरहदा समाजको सहयोगले ठूलो राहत मिलेको बताए ।

साथै यो महामारीमा धेरै सहयोगी मनहरु जोडिन आग्रह गर्दै कोरोना संक्रमितको थप उपचारका लागि वेड सख्या बढाइएको उनको भनाई थियो । 
कार्यक्रममा विजय विकास स्रोत केन्द्रका प्रेमप्रसाद सापकोटा राजु र अस्पतालका स्टोर प्रमुख विष्णुप्रसाद सापकोटाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस