प्रेस कानुनलाई समयसापेक्ष बनाउन संशोधनको तयारी

शुक्रबार, १५ मंसिर २०७४, ०९ : ०९
प्रेस कानुनलाई समयसापेक्ष बनाउन संशोधनको तयारी

चितवन । पत्रकारितासँग सम्बन्धित प्रेस कानुनहरु समयसापेक्ष बनाउन तिनमा संशोधन गराउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले बिहीबार भरतपुरमा आयोजना गरेको गोष्ठीका सहभागीहरुले प्रेस कानुनहरुमा समयसापेक्ष सुधारका लागि संशोधन गर्नुपर्ने बताएका हुन् । 
गोष्ठीका स्रोतव्यक्ति पत्रकार विनोद भट्टराईले नेपालको संविधान २०७२ मा केही बन्देजात्मक व्यवस्था रहेको जानकारी गराए । ‘राष्ट्रिय सुरक्षाको विषयमा विश्वका सबैजसो देशले बन्देजात्मक व्यवस्था गरेका छन्’ उनले भने, ‘बन्देजात्मक व्यवस्था कानूनमा उल्लेख भएको हुनुपर्छ । संविधानमा उल्लेख गरेरमात्र हुँदैन ।’ उनले संविधानमा दुई प्रदेशबीच आँच आउने कुरा प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख भएको जानकारी गराए ।
दुई प्रदेशबीच सुमधुर सम्बन्ध छ वा हुनेछ भन्ने मापन हुन नसक्ने भट्टराईको भनाइ छ । स्रोत र साधनको बाँडफाँटको विषयलाई लिएर विश्वका थुप्रै देशमा प्रदेशबीच द्वन्द्व भएको थुप्रै उदाहरण पाउन सकिने उनले बताए । उनले पत्रपत्रिका तथा छापाखाना सम्बन्धी ऐनमा पुस्तक र पत्रिका दर्ता गरेरमात्र प्रकाशन गर्नुपर्ने व्यवस्था भएको तर सोही ऐनले पार्टीका मुखपत्र भने दर्ता गर्न नपर्ने व्यवस्था गरेको बताए ।
सरकारले अनलाइन मिडियालाई नियन्त्रण गर्न कडा सजायको प्रावधान राखेको उनले बताए । अनलाइन मिडिया सञ्चालन निर्देशिका २०७३ लाई टेकेर सरकारले पत्रकारलाई थुन्ने काम गर्न नहुने उनको भनाइ थियो । ‘पत्रकारलाई जेल हाल्न पाइँदैन’ उनले भने, ‘पत्रकारले गल्ती गरे गल्ती अनुसारको जरिबाना गर्नुपर्छ ।’
गोष्ठीलाई सहजीकरण गर्दै अर्का पत्रकार रघु मैनालीले नेपालमा मिडिया अनुसन्धान गर्ने संस्था नै नभएको बताए । जनशक्ति विकास हुन नसक्दा नेपालका मिडिया हाउसहरु संकटमा रहेको उनको ठम्याई थियो । ‘बियर उत्पादक कम्पनीलाई लगानी अवधि भनेर पाँच वर्ष कर छुट हुन्छ’ उनले भने, ‘कुनै रेडियो असारमा प्रसारण सुरु भएको छ भने साउनमै कर तिर्नुपर्छ ।’
पत्रकारिता वस्तुगत सत्यमा आधारित हुनुपर्ने भन्दै उनले सिद्धान्ततः विश्वका कुनै देशमा पनि सरकारले मिडिया सञ्चालन गर्न नमिल्ने बताए । पत्रकारको शैक्षिक योग्यता मिडिया हाउसले निर्धारण गर्ने विषय भएको उनले प्रष्ट पारे । नेपालमा विद्यमान प्रेस कानुनमा समयसापेक्ष संशोधन आवश्यक रहेको उनले बताए ।
गोष्ठीमा तनहुँ, धादिङ, मकवानपुर, चितवन र नवलपरासीमा कार्यरत पत्रकार सहभागी थिए । सहभागी पत्रकारहरुको जिज्ञासा र स्रोतव्यक्तिको प्रस्तुतिमाथि पत्रकारद्वय राजन भट्टराई र कृष्ण गिरीले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस