अझै बनेन क्वारेन्टिन र आइसोलेशन

रासस

बुधबार, २९ बैशाख २०७८, १२ : २९
अझै बनेन क्वारेन्टिन र आइसोलेशन

डोटी ।स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि आइसोलेशन र क्वारेन्टिन निर्माण गर्न सकेका छैनन् । कोरोना सङ्क्रमणले जिल्लावासी आक्रान्त बन्दासमेत यहाँका दुई नगरपालिकासहित साता स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र आइसोलेशन निर्माण नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

जिल्लामा पूर्वीचौकी गाउँपालिकाले मात्रै आइसोलेशन निर्माण गरेको भए पनि अन्य स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र आइसोलेशन निर्माण नगरेको दिपायल सिलगढी नगरपालिका–५ का किरण भण्डारीले बताए । उनले भने,“कोरोनाले जिल्ला आक्रान्त भइसक्यो यहाँका जनप्रतिनिधिहरूले क्वारेन्टिन र आइसोलेशन बनाउनेतर्फ कुनै ध्यान दिएका छैनन् ।”

क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ गएका तथा समुदायमा घुलमिल हुन थालेका कारण कोरोना सङ्क्रमणदर दैनिक फैलिँदै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । अहिले पनि दैनिकजसो छिमेकी मुलुक भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रिने क्रम बढिरहेको छ ।

छिमेकी मुलुक भारत तथा देशका अन्य भागबाट अहिलेसम्म कति जना आए र ती कहाँकहाँ छन् त्यसको अभिलेख राख्ने समेत नहुँदा झनै गाह्रो भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिर्वाय रूपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरेको भए पनि भारतबाट आएकाहरू गाउँगाउँमा डुल्ने गरेका छन् ।

यहाँका गाउँघरमा कोरोनाको बढी जोखिम रहेको अर्का स्थानीयवासी रामबहादुर विष्टले बताए । उनले भने , “ जिल्लामा कति सङ्क्रमित आए भन्ने कुनै स्थानीय तहले रेकर्ड राखेका छैन, बाहिरबाट आएका समाजमा घुलमिलमा छन्, कोरोना जोखिम त बढ्ने नै भयो ।”

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा जिल्लाका नौवटै स्थानीय तहहरूले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्म पाँच महिनामा करीब रु १२ करोड  खर्च गरेका थिए ।

यस वर्ष कसैले पनि क्वारेन्टिन र आइसोलेशन निर्माण गर्न चासो देखाएका छैनन् । तत्कालीन समयमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेशनलगायत विषयमा रकम खर्च गरेको थियो । 

प्रतिक्रिया दिनुहोस