कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु, ३ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १० : ३८
कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु,  ३ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहागरपालिका–१५ स्थित पूर्वेली पथमा कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु भएको छ । ३ जनाको समुहमा रहेका लुटेराको आक्रमणबाट पूर्वेली पथमा बस्ने ८४ वर्षीया गोविन्दमाया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

वैशाख ११ गते शनिबार विश्वकर्माको घरमा ३ जना लुट्न गएका थिए । लुटेराको कुटपिटबाट घाइते भएकी गोविन्दमायाको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा वैशाख १९ मा मृत्यु भएको हो ।

लुटपाट र हत्यामा संलग्न मोरङ घर भएका वीरबहादुर परियार उर्फ सन्तोष, ३५ वर्षीय सोनी राई र धरान घर भएकी २९ वर्षीया लक्ष्मी लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियारले गोविन्दमायालाई हिर्काएर उनीहरुले ११ लाख ४० हजार बराबरको गहना र नगद लुटेको धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

वैशाख ११ गते बिहान छोरा बुहारी पूजा गर्न निस्केको बेला घरमा पसेको सो समूहले गोविन्दमायालाई कुटेर डकैती गरेका थिए । उनीहरुमाथि डाँका र ज्यान मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस