अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गर्दै भक्तपुर प्रहरी

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १५ : १४
अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गर्दै भक्तपुर प्रहरी

काठमाडौं । बढ्दो कोरोना संक्रमण र अस्पतालहरुले अक्सिजनको अभाव खेपिरहेका बेला प्रहरीले अक्सिजन ग्याँसका सिलिन्डर संकलन गर्न थालेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले ९५ थान ग्याँस सिलिन्डर बटुलेर अस्पताललाई बुझाएको हो ।

प्रहरी परिसर भक्तपुरले मातहतका वृत्तबाट समेत संकलन गरेको खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर कोरोना संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरेको जनाएको छ ।

भक्तपुर ईन्टरनेशनल अस्पतालमा भरिएका १२ वटा सिलिन्डर, भक्तपुर अस्पतालमा ५० वटा खाली र ५ वटा भरी गरी ५५ वटा, अल्का अस्पताल ललितपुरमा ३ वटा भरी सिलिन्डर र नेपाल-कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ वटा खाली सिलिन्डर वितरण गरेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बिरामीको चाप बढेको र अस्पतालमा भर्ना भएर उपचार गराईरहेका बिरामीलाई अक्सिजनको अभावले उपचारमा कठिनाई भैरहेको अवस्थालाई ध्यान दिएर सिलिन्डर संकलन कार्य अघि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले उद्योग, कल कारखाना तथा कवाडी संकलन केन्द्र लगायतका ठाउँमा रहेका सिलिन्डरहरू संकलन गरी अस्पताललाई वितरण गरिरहेको छ । हिजो काँस्की प्रहरीले पनि सिलिन्डर बटुलेर अस्पतालहरुलाई बाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस