गैँडाकोटमा अक्सिजनसहित २० श्ययाको आइसोलेशन तयार

रासस

विहीबार, २३ बैशाख २०७८, १२ : २७
गैँडाकोटमा अक्सिजनसहित २० श्ययाको आइसोलेशन तयार

सांकेतिक तस्वीर

नवलपुर । गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० श्ययाको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए। 

आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई÷दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको बताए । दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छनोट प्रक्रियामा रहेका नगरप्रमुख पौडेलले बताए ।

नगरपालिका स्वास्थ्य शाखाबाट आवश्यक कपडा र औषधिको व्यवस्थापनपछि अक्सिजन, चिसो–तातो पानी, पानी तताउने भाँडा, बिजुली, इन्टरनेट, झुल, पङ्खासहित व्यवस्थापन गरिएको र आवश्यक थप सामग्री थप्दै लैजाने पौडेलको भनाइ छ । नगरभित्रका बिरामीलाई अक्सिजनको आवश्यकता परेमा चिकित्सकले राख्नुपर्ने भनेमा आइसोलेशनमा राखिने छ । कोभिड सङ्क्रमणका कारण वडा नं ११ मा बुधबार बिहान एक व्यक्तिको मृत्यु भएपछि नगरपालिकाले तीव्ररूपमा आइसोलेशन सञ्चालनमा ल्याएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को टोली र अस्पताल व्यवस्थापन समितिबीच गत बुधबार बैठक बसेर अक्सिजन सिलिन्डरसहितको आइसोलेशन बनाउने निर्णय भएसँगै सो कार्यलाई अघि बढाइएको थियो । यसअघि क्वारेन्टिन सञ्चालन गरिएको स्थानलाई नै थप व्यवस्थापनसहित आइसोलेशन तयार पारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले बताए । 

अहिले पाँचवटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन तयार पारिएको भए पनि आजबाट थप अक्सिजनको व्यवस्था हुने सुवेदीले बताए । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिफारिशमा आजै १० वटा अक्सिजन सिलिण्डर ल्याउने तयारी भइरहेको सुवेदीले बताए । अक्सिजनको आवश्यकता पर्ने कोरोना सङ्क्रमितलाई आजैदेखि सो आइसोलेशनमा राखेर उपचार गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको सुवेदीको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस