कोभिड–१९ रोकथाममा भरतपुर महानगरको कदम : घरबाटै बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १६ : ४०
कोभिड–१९ रोकथाममा भरतपुर महानगरको कदम : घरबाटै बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था

चितवन । भरतपुर महानगरपालिकाले कोभिड १९ रोकथाम तथा उपचारमा प्रभावकारी कदम चालेको जनाएको छ । महानगरभित्रका कुनै पनि संक्रमित बिरामीलाई अस्पतालसम्म ल्याउन व्यवस्था गरेको छ । 

भरतपुर महानगर प्रमुख रेनु दाहालले कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षी समिति गठन गरिएको बताइन् । उनले  कोरोनाका लक्षण देखिएकाहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरेको बताइन् । 

उनका अनुसार स्वास्थ्य विज्ञहरू स्वास्थ्य संस्था प्रमुखहरू र स्थानीय प्रशासनसंग जोखिम न्यूनिकरण र प्रभावकारी उपचारका लागि समन्यव गरी महानगर अगाडि बढेको छ । प्रमुख दाहालले हरेक टोल टोलमा माइकिङ्ग मार्फत सचेतना कार्यक्रम गरिएको बताइन् । 

महानगर प्रमुख दाहालका अनुसार बिरामीहरूलाई समयमै अस्पतालको पहुँच पुर्याउन हाललाई २ वटा एम्वुलेन्स स्टाण्डवाई राखिएको र जानकारी पाउन साथ बिरामीलाई अस्पतालमा ल्याउने व्यवस्था मिलाइको छ। भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधआज्ञालाई सफल पार्न समन्वय गरिएको बताइन् । उनले भनिन्, ‘संक्रमितहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको छ ।’

उनले महानगरभित्रका संक्रमितहरूको तथ्याङ्क अभिलेख नियमित गरी प्रतिवेदन तयार गरिएको बताइन् । भरतपुर केन्द्रिय अस्पताल मेडिककल कलेजहरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूसंग समन्वय गरी संक्रमितहरूको उपचारका लागि प्रभावकारी ढङ्गले अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले जानकारी दिए । उनले भरतपुर महानगर माहतहतका सम्पूर्ण स्वास्थ्य केन्द्रहरू नियमित सञ्चालन गरी स्वास्थ्यकर्मीहरूलाई कोभिड रोग नियन्त्रण, व्यवस्थापन तथा उपचारका लागि परिचालन गरिएको बताए । 

जिल्लास्थित अन्य कार्यालय तथा संघ संस्थाहरूसंगको समन्वयमा कोभिड रोकथाम तथा उपचारको लागि समन्वय र सहजीकरण भइरहेको महानगरको भनाइ छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडा स्थित सर्वपक्षिय समिति र टोल विकास समितिलाई समेत सक्रिय बनाइ कोभिडका बिरामीहरूको पहिचान व्यवस्थापन र उपचारलाई सहज बनाउने कार्य भइरहेको महानगरले जनाएको छ। महनगरबासीको स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएर आवश्यकता अनुसार थप कामहरू गर्दै जाने योजनाका साथ भरतपुर महानगर अगाडि बढिरहेको महानगर प्रमुख दाहालको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस