रोल्पामा भोलिदेखि १५ दिन निषेधाज्ञा हुने

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १४ : ०९
रोल्पामा भोलिदेखि १५ दिन निषेधाज्ञा हुने

रोल्पा । बैशाख २२ गते बुधबार अर्थात भोलिदेखि लागू हुनेगरी रोल्पामा पनि १५ दिनसम्म निषेधाज्ञा जारी भएको छ । सोमबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले आपत्कालीन सेवा बाहेक सबै सेवा बन्द गर्नेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २२ गते बिहान ६ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जारी गरेको आदेशमा भनिएको छ ।

रोल्पामा कोरोनाले अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गंगादेव गाउँपालिकामा १ महिला, त्रिवेणी गाउँपालिकामा १ पुरुष, सुनीलस्मृति गाउँपालिकामा १ पुरुष र माडी गाउँपालिकाका १ पुरुषको मृत्यु भएको हो। संक्रमितलाई विभिन्न अस्पतालमा उपचार गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनस्वास्थ्य प्रमुख नोखराज पोखरेलले जानकारी दिए ।

रोल्पामा अहिलेसम्म कोरोनाका सक्रिय संक्रमित संख्या ९७ जना छन् । पश्चिमी रोल्पाको गंगादेव गाउँपालिकामा ४५ छन् । त्यससँगै रोल्पा नगरपालिका, त्रिवेणी गाउँपालिका, सुनीलस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका, माडी गाउँपालिकालगायतमा कोरोना संक्रमण फैलिएको हो ।

डीसीसीएमसीका अनुसार कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा त्यसबाट जोगिन निषेधाज्ञा जारी गर्नुपरेको डीसीसीएमसीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए । निषेधाज्ञाको अवधिमा अस्पताल, स्वास्थ्य सामग्री र औषधि पसल २४ घण्टा नै खुला रहने छ । खाद्यवस्तु, ग्यास, दूग्धजन्य पदार्थ, तरकारी, खाद्यवस्तु, ग्यास, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसलले भने पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ ।

सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गर्ने तर पूर्वाधार निर्माणका काम जारी राख्ने निषेधाज्ञामा उल्लेख छ । शंकास्पद स्थान र व्यक्तिलाई निगरानी राख्ने र बाहिरबाट आएकालाई कम्तीमा १० दिन होम क्वारेन्टाइनमा बसाल्ने पनि भनिएको छ।

प्रतिक्रिया दिनुहोस