खोरसोरमा नारायणीकलीले जन्मायो छावा

रासस

सोमबार, २० बैशाख २०७८, १२ : ०८
खोरसोरमा नारायणीकलीले जन्मायो छावा

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा रहेको हात्तीले छावा जन्माएको छ । प्रजनन केन्द्रमा रहेको नारायणीकली हात्तीले आज बिहान २ः०० बजे छावा जन्माएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए ।  

सुत्केरी हात्ती र उनको छावा (भाले) को  अवस्था स्वस्थ तथा स्फूर्त रहेको छ । सुत्केरी हात्तीको स्याहारका लागि तीन जना हात्तीसार कर्मचारी खटाइएको पनि उनले बताए ।  नारायणीकली निकुन्जकै बगाई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएकाले उनलाई कामकाजबाट फिर्ता गरी खोरसोर प्रजनन् केन्द्रमा राखेर स्याहार सुसार गरिँदै आएको अधिकारीले बताए ।

 नारायणीकलीले यसअघि  माडीगज  र लक्कीगज नामका दुई हात्तीलाई जन्म दिइसकेकी छिन् । ती दुवै हात्ती भर्खरै सम्पन्न राष्ट्रिय गैँडा गणना २०७७ मा समेत सहभागी भएका निकुञ्जले जनाएको छ । ]

खोरसोरमा यो नवजात छावा हात्तीसँगै १० बच्चा हात्ती पुगेका छन् । नवजात छावासहित चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको कुल सङ्ख्या ५१ तथा कोशीटप्पु वन्यजन्तु आरक्षबाट कामकाजमा खटिएका छ गरी जम्मा ५७ हात्ती पुगेका अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस