भरतपुर महानगरभित्र दुई स्थानमा आइसोलेसन बनाउने तयारी

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, ०९ : ३१
भरतपुर महानगरभित्र दुई स्थानमा आइसोलेसन बनाउने तयारी

चितवन । भरतपुर महानगरभित्र दुई स्थानमा आइसोलेसन बनाउने तयारी गरिएको छ । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।

चितवनबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहितको टोलीले शनिबार भरतपुरको वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्टको स्थलगत अध्ययन गरेका हुन् । टोलीले सो क्षेत्रमा स्थलगत अध्ययन गरी वागीश्वरीमा १०० शय्याको र शारदानगर हेल्थपोष्टमा ३० शय्याको आइसोलेसन केन्द्र बनाउने तयारी गरेको छ । 

प्रदेशसभा सदस्य सुवेदीले योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्ट प्रशासनलाई तत्काल आइसोलेसन केन्द्र बनाउन के–कति खर्च लाग्छ योजनासहित पेश गर्न निर्देशन दिएका छन् । उनले भने, “आइसोलेसन केन्द्रका लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको सहयोग रहनेछ । भरतपुरमा कोरोनाको सङ्क्रमण फैलिएर महामारीको रूपमा फैलिनसक्ने भएकाले पनि आइसोलेसन जरुरी छ ।” उनले अस्पतालहरु भरिन थालेपछि अक्सिजनसहितको आइसोलेसनको जरुरी परेको बताए ।
 
पत्रकार महासङ्घको हेल्प डेस्क 

चितवनमा बढ्दो कोरोना सङ्क्रमण र निषेधाज्ञाको घोषणासँगै नेपाल पत्रकार महासङ्घ चितवनले हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारलाई केही समस्या परेमा तत्काल समाधानका लागि डेस्क स्थापना गरेको जनाएको छ । पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीका अनुसार महासङ्घ सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा गठित डेस्कको सदस्यमा सहसचिव उर्गेन तामाङ र विप्लव काफ्ले रहेका छन् । 

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही

दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि चितवनमा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । यहाँ निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५८२ मानिस तथा ८४१ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिबार दिनभरमा सो सङ्ख्यामा कारवाही गरिएको बताए। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरुबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट रु ७२ हजार ९०० जरिवाना असुल गरिएको भन्दै गिरीले सो अवसरमा ५० थान मास्कसमेत वितरण गरिएको जानकारी दिए ।
 
 

प्रतिक्रिया दिनुहोस