चितवन । भरतपुर महानगरभित्र दुई स्थानमा आइसोलेसन बनाउने तयारी गरिएको छ । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ ।
चितवनबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहितको टोलीले शनिबार भरतपुरको वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्टको स्थलगत अध्ययन गरेका हुन् । टोलीले सो क्षेत्रमा स्थलगत अध्ययन गरी वागीश्वरीमा १०० शय्याको र शारदानगर हेल्थपोष्टमा ३० शय्याको आइसोलेसन केन्द्र बनाउने तयारी गरेको छ ।
प्रदेशसभा सदस्य सुवेदीले योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्ट प्रशासनलाई तत्काल आइसोलेसन केन्द्र बनाउन के–कति खर्च लाग्छ योजनासहित पेश गर्न निर्देशन दिएका छन् । उनले भने, “आइसोलेसन केन्द्रका लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको सहयोग रहनेछ । भरतपुरमा कोरोनाको सङ्क्रमण फैलिएर महामारीको रूपमा फैलिनसक्ने भएकाले पनि आइसोलेसन जरुरी छ ।” उनले अस्पतालहरु भरिन थालेपछि अक्सिजनसहितको आइसोलेसनको जरुरी परेको बताए ।
पत्रकार महासङ्घको हेल्प डेस्क
चितवनमा बढ्दो कोरोना सङ्क्रमण र निषेधाज्ञाको घोषणासँगै नेपाल पत्रकार महासङ्घ चितवनले हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारलाई केही समस्या परेमा तत्काल समाधानका लागि डेस्क स्थापना गरेको जनाएको छ । पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीका अनुसार महासङ्घ सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा गठित डेस्कको सदस्यमा सहसचिव उर्गेन तामाङ र विप्लव काफ्ले रहेका छन् ।
निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही
दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि चितवनमा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । यहाँ निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५८२ मानिस तथा ८४१ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिबार दिनभरमा सो सङ्ख्यामा कारवाही गरिएको बताए। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरुबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट रु ७२ हजार ९०० जरिवाना असुल गरिएको भन्दै गिरीले सो अवसरमा ५० थान मास्कसमेत वितरण गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना