निषेधाज्ञाको खबरसँगै काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको चाप बढ्यो

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, ०९ : ११
निषेधाज्ञाको खबरसँगै काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको चाप बढ्यो

काठमाडौँ । सरकारले बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने सुचना जारी गरेसँगै राजधानी छाड्ने सर्वसाधारणको संख्या बिहानैदेखि ह्वात्तै बढेको छ । संक्रमणको स्थिती भयावह हुने देखेपछि सरकारले निषेधाज्ञा लगाउने सुचना जारी गरेको हो । 

काठमाडौंका विभिन्न स्थानबाट  लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्‍याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो । ट्राफिक प्रहरीका  अनुसार अघिल्ला दिनहरुको तुलनामा यात्रुहरुको चाप बढेको छ ।

तर अहिलेसम्म तथ्यांक अद्यावधिक भइनसकेको उनले बताए । संक्रमण बढेपछि फेरि मुलुक लकडाउनउन्मुख भएको छ । दोस्रो लहरको संक्रमण बढेपछि संक्रमणको ‘चेन’ ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या अब ९ पुगेको छ । यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस