कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्धको अविस्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टीले लिखित सहमति गरेर मात्रै अगाडि बढ्नुपर्ने सर्त राखेको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ दल मध्येको समाजवादी पार्टीले अविश्वासको प्रस्ताव टेबुल हुनु अगावै सत्ता र शक्ति बाँडफाँडमा लिखित सहमति हुनु पर्ने सर्त राखेको हो ।
कार्य व्यवस्था परामर्श समितिको बैठकपछि बसेको ३ दलको बैठकमा जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले पार्टीका तर्फबाट ४ सर्त राखेका हुन् । सत्तामा गएपछि सहकार्य गर्ने दलबीच तिक्तता नआओस् भनेर पार्टीले नयाँ सरकार गठन हुनु अगाडिनै ४ सर्त अगाडि सारेको आचार्यले बताए । उनले मन्त्रालय बाँडफाँड, राजनीतिक नियुक्ति, पावर सेयरिङ लगायतका विषयमा तीन दलबीच आन्तरिक सहमति गरेर अगाडि बढ्नु पर्ने बताए । उनले ठूला दलले सत्तामा पुगेपछि साना दललाई हेप्ने प्रवृत्ति देखिएकाले अविश्वासको प्रस्ताव पास हुनु अघि नै लिखित सहमति कायम गर्न खोजेको बताए।
गण्डकी प्रदेशसभामा ६० सांसद रहेका छन् । त्यसमध्ये एमालेका पक्षमा २७ सांसद छन् । स्वतन्त्रमा मनाङ ‘ख’ बाट निर्वाचित दिपक मनाङेले नेकपालाई समर्थन छ । यो सहित एमालेका सांसद संख्या २८ रहेका छन् । माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन् ।
जसपाका २ सांसद सहित काँग्रेस र माओवादी केन्द्रका २८ जना सांसदको हस्ताक्षरमा यही वैशाख २ गते प्रदेश सभामा अविश्वास प्रस्ताव पेश गरिएको थियो ।
यसैबीच समाजवादी पार्टीको सर्तसँगै आजै तीन दलको बैठक बस्ने भएको छ । प्रदेश सभाको बैठक सुरु हुनु अगाडि ३ दलको बैठक बस्दैछ । आफूहरुले राखेको मागबारे छलफल गर्न बैठक बस्न लागेको जनता समाजवादी पार्टीका नेता आचार्यले बताए ।
उनले बैठक बसेर आफ्नो पार्टीले अघिसारेका सर्तहरूमा छलफल गरेर अगाडी बढ्ने बताए । मन्त्रालयका भागबण्डा, राजनीतिक नियुक्ति, प्रदेश सभामा जसपाको स्थान जस्ता विषयमा प्याकेज नै गराएर लिखित सम्झौता हुनुपर्ने आचार्यले बताए । प्रदेशसभा बैठक २ बजे बस्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती