एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

सफल खबर संवाददाता

शनिबार, १३ असार २०८३, ०७ : ०४
एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ गरेको हो ।

हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर शेर्पाले लाभ लिएको आरोप छ । विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा उनले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको छ ।

विद्यालयलाई अनुचित हानि गर्ने नियतले उनले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको सीआईबीको अनुसन्धानबाट थाहा भएको छ ।

विद्यालयका लागी सवारी साधन खरिद गर्ने रकमबाट उनले आफू सम्बद्ध कम्पनीको नाममा जग्गा र सवारी साधन खरिद गरेर विद्यालयको हक टुटाएको आरोप छ । विद्यालयको रकम हिनामिना गरेर आफूले लाभ लिएर उनले ठगी र अपराधी विश्वासघात कसुर गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो ।

कांग्रेसमा आबद्ध शेर्पा विरुद्ध दुई वर्षअघि नै जाहेरी परे पनि प्रहरीले उजुरी दर्ता गरेको थिएन । अदालतले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाउन आदेश दिएसँगै सीआईबीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस