सहअध्यक्षको लोभमा हाम्फालेका बादल एमालेको चौथो स्थानमा

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १० : १३
सहअध्यक्षको लोभमा हाम्फालेका बादल एमालेको चौथो स्थानमा

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको सदस्यमा गनिएका गृहमन्त्री रामबहादुर थापा बादल यतिबेला भात खाउँ कि थाल खाउँको अवस्थामा पुगेका छन् । एमाले र माओवादी केन्द्र आ–आफ्नो बाटो लाग्दासम्म बादल न्यूटल अवस्थामा बसे । अन्ततः बादल एमालेमा फर्किए । 

नेकपा हुँदा गृहमन्त्री रामबहादुर थापा बादल दुवै पक्ष (ओली–प्रचण्ड) को गणनामा पर्थे । ९ सदस्यीय सचिवालयमा बादल जता खुल्यो त्यत्रै बहुमत पुग्ने हुँदा उनी दुवै पक्षको तानातानमा पर्थे।  अन्तिम घडीमा तीन दशकका सहयात्री प्रचण्डलाई छाडेर ओलीतिर लागे बादल । बादल ओली समूहतर्फ लागेपछि एमालेको सहअध्यक्ष बन्ने चर्चा थियो ।

सहअध्यक्ष बन्न बादल ओली समूहतर्फ लागे भन्ने चर्चा पनि त्यतिबेला व्यापक भयो । बादलले प्रधानमन्त्री ओलीले सहअध्यक्षको उधारो कागज गरे भन्ने चर्चा पनि थियो । नेकपा पार्टी आ–आफ्नो बाटो लागेपछि ओली र बादलको पटकपटक भेटवार्ता भएको हो । सोही भेटवार्ताबाट बादल ओली समूहमा लागे । 

तीसौं वर्ष सहकार्य गरेका र आफूपक्षीय भनेर चिनिएका दर्जनौँ नेतालाई छाडेर बादल एक्लै एमालेमा पसेपछि धेरैले त्यतिबेला उदेक मानेका थिए । 
झन्डै चार दशक लामो राजनीतिक इतिहासलाई दाउमा राखेर एमाले बनेका बादललाई अहिले आफ्नै भूमिका जोगाउन पनि मुस्किल भएको छ । बादल जेठ छ गते हुने राष्ट्रिय सभाका उपचुनाव उमेदवार बन्ने भएका छन् तर जित्ने ग्यारेन्टी छैन । पराजित भए पनि बादलको राजनीति एक पटक फेरि धर्मराउँछ । 

एमालेले गठन गरेको स्थायी कमिटीमा बादललाई चौथो स्थानमा राखिएको छ । ओली, वामदेव गौतम र ईश्वर पोखरेलको पछि बादल परेका छन् । सहअध्यक्ष बन्ने भनिएका बादल आज चौथो स्थानमा खुम्चन परेको छ । स्थायी कमिटी सदस्यको नामावलीमा भने नेम्वाङभन्दा माथि नै बादल त छन्, तर उनी चौथो स्थानमा चित्त बुझाउनुपरेको छ । 

विभाजनको कठिन घडीमा  ओलीलाई साथ दिएका बादल चौथो वरियतामा परेपछि माओवादी आन्दोलनको लामो पृष्ठभूमि त्यागेर एमालेमा मिसिएका बादल यतिबेला धर्मसंकटमा परेका छन् । बादल कमरेडलाई ओलीले उठ्नै नसक्ने गरी थान्को लगाइदिएका माओवादी केन्द्रका ती नेताले भने । अब एमालेमा बादलले खास भूमिका पाउने सम्भावना कमजोर बनेको ती नेताले बताए  ।  माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि बादल ओली सरकारको म्यादी मन्त्रीका रुपमा रहेका छन् । चुनावको नतिजा आएपछि म्यादी मन्त्रीको पद उनको खोसिने माओवादी केन्द्रका नेता बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस