प्रधानमन्त्रीले ओलीले आज पुननिर्मित धरहराको उद्घाटन गर्दै

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, ०८ : ०२
प्रधानमन्त्रीले ओलीले आज पुननिर्मित धरहराको उद्घाटन गर्दै

काठमाडौ । भूकम्पमा लडेको उपत्यकाकै अग्लो स्तम्भ धरहराको आज (शनिबार) बिहान ११ बजे उद्घाटन हुँदैछ । बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा मात्रै तयार गरेर उद्घाटन गर्न लागेका हुन् । भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो ।

स्तम्भ तयार गर्न र सुनको गजुर राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ। झन्डै दुई वर्षपछि धरहरा स्तम्भको काम सकिए पनि बाहिरी ब्युटिफिकेसन र जमिनमुनि रहेको भुमिगत दुई तलाको भने जम्मा १० प्रतिशत मात्रै काम भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले धरहरा निर्माणमा अधिकांश नेपालमै उत्पादित निर्माण सामग्री प्रयोग गरिएको बताए। उनका अनुसार सर्वोतम, जगदम्बा, अल्ट्रा, होङ्सीलगायत सिमेन्ट प्रयोग भएको छ भने फलामे डन्डीतर्फ पनि नेपालमै उत्पादित अम्बे, लक्ष्मी र जगशक्ति डन्डीलगायत प्रयोग भएकोे छ। यसबाहेक एसी, बिजुलीका अत्यावश्यक सामग्री भने छिमेकी मुलुकबाट ल्याएर जडान गरिएको छ ।  

२०७२ सालमा गएको भूकम्पमा लडेको धरहरा पुनर्निर्माण गर्ने विषयमा लामो समय विवाद भएपछि सुरु भएको पुनर्निर्माण कार्य तीव्र गतिमा भए पनि ठेकेदार कम्पनीले तोकिएको समयमा पूरा गर्न सकेको थिएन। म्याद थप गर्दै पुनर्निर्माण गर्दै आएको कम्पनीले धरहराको बाहिरी काममा अझै समय लाग्ने जनाएको छ।

पुनर्निर्माण प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्रबाट भने २२ तलाको छ। त्यस्तै, जमिनमुनि दुई तलाको भूमिगत संरचनाको कार्य पनि बाँकी रहेको छ। धरहरा क्षेत्रका बाँकी संरचनाको काम भने जारी नै रहने बताइएको छ।  

प्रतिक्रिया दिनुहोस