भारतीय कोरोना खोप कोभ्याक्सिन र कोभिशिल्ड पनि प्रभावकारी : आईसीएमआर

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १५ : २२
भारतीय कोरोना खोप कोभ्याक्सिन र कोभिशिल्ड पनि प्रभावकारी : आईसीएमआर

काठमाडौं । भारतको मेडिकल नियमनकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएमआरले कोरोना भाइरस संक्रमण रोक्न अहिले दिइएको कोभ्याक्सिन र कोभिशिल्ड खोप नयाँ प्रकारमा पनि प्रभावकारी देखिएको बताएको छ ।

आईसीएमआरले खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको बताएको छ ।आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट बचाउँछ । यद्यपि प्रतिरोधी क्षमता प्रत्येक डोज दिएको दुई सातापछि मात्र विकसित हुन शुरु हुन्छ र सबै मानिसमा एउटै समयमा भने विकास हुँदैन । कोरोनाको पहिलो डोज लिएका मानिसहरु पनि संक्रमितको सम्पर्कमा आए संक्रमित बन्न सक्छन् ।’

भार्गवका अनुसार कोरोनाविरुद्धको कोभ्याक्सिन खोप लिने एक करोड १० लाख मानिसमध्ये ९३ लाख ५६ हजार ४३६ ले पहिलो डोज लिएका थिए । उनीहरुमध्ये सहभागीमध्ये ४ हजार २०८ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । दुवै डोज लिएका १७ लाख ३७ हजार १७८ मध्ये ६९५ जनामा मात्र कोरोनाको संक्रमण देखिएको थियो ।

भारतमा कोभिशिल्ड खोप लगाएका ११ करोड ६० लाख मानिसमध्ये १० करोड ३ लाख २ हजार ७४५ ले पहिलो डोज खोप लिएका थिए । उनीहरुमध्ये १७ हजार १४५ जनामा कोरोना संक्रमण देखिएको थियो । १ करोड ५० लाखले कोभिशिल्डको दुवै डोज लिएका थिए । उनीहरुमध्ये पाँच हजार १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस