कोरोना भाइरसको संक्रमण बढेपछि बाँकेमा बिहीबारदेखि लकडाउन हुने

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, १५ : ०२
कोरोना भाइरसको संक्रमण बढेपछि बाँकेमा बिहीबारदेखि लकडाउन हुने

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण बढेपछि बाँकेमा आगामी बिहीबारदेखि लकडाउन हुने भएको छ। दैनिक ठूलो संख्यामा कोरोना संक्रमित बढिरहेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो।

बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी छन्। संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेको बताए। डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा दुईमत देखिएको छ।

प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने बताए। कुनै पनि ठाउँमा दुई सय बढी भन्दा संक्रमित भएमा स्थानीय प्रशासनले संक्रमणलाई रोक्न लकडाउन गर्न सक्छ।

डीसीसीएमसीको बैठकमा राजनीतिक दल, नेपालगञ्ज उद्योग वाणिज्य संघ, चिकित्सकलगायतको उपस्थिति थियो। चिकित्सकहरुले केही दिनदेखि नै लकडाउन गर्न जोड गरिरहेका थिए।

अहिले बढिरहेको संक्रमणको चेनलाई ब्रेक गर्नुपर्ने चिकित्सकहरुको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस