टीकापुर । सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन कैलाली जिल्लामा रहेका विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेपछि कैलालीका स्थानीय तह कसैले विद्यालय चलाउने त कसैले बन्द गर्ने निर्णय गरेका छन् ।
कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेपछि कैलालीका पालिकामा शिक्षा सम्बद्ध सरोकारवाला सहभागी बैठकले विभिन्न निर्णय गरेका छन् ।
कैलालीको टीकापुर नगरपालिकाले वैशाख १५ गतेसम्म विद्यालय सञ्चालन राख्ने र वैशाख १५ गतेदेखि परीक्षा गरेर मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा अधिकृत नरेश अवस्थीले विद्यालय सञ्चालक तथा प्रधानध्यापक सहभागी बैठकले परीक्षा गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
“जोखिम बढी नरहेकाले शिक्षक, विद्यालय सञ्चालक र अभिभावकसँगको छलफलमा परीक्षा सकेर विद्यालय बन्द गर्ने सहमति भएको छ । अब वैशाख १५ गतेदेखि परीक्षा सञ्चालनको तयारी शुरु भएको छ”, शिक्षा अधिकृत अवस्थीले भने, “परीक्षा सकेर बन्द गर्नेछौँ । अहिले बन्द गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने र पढेको कुरा बिर्सने डर बढी हुन्छ ।”
कैलालीको धनगढी महानगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले भने विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जानकी गाउँपालिकाले वैशाख ७ गतेदेखि १३ गतेसम्म पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिए । “हामीले सात दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ । सात दिनपछि परीक्षाको तयारी शुरु हुन्छ”, उनले भने, “विद्यार्थीलाई परीक्षा तयारी बिदा हो तयारी गर्नुस् भनेका छौँ । जोखिम बढेपछि सरकारको निर्देशन पालना गरेका हौँ ।”
लम्कीचुहा नगरपालिकाले वैशाख ७ गतेदेखि १५ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले जानकारी दिए । “हामीले छलफल गर्दा सबैबाट यही सुझाव आयो, भारतबाट नेपाल फर्केका धेरै नागरिक भएकाले विद्यालयमा जोखिम हुनसक्छ भनी १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ”, न्यौपानेले भने, “अब विद्यालय धेरै बन्द गर्न त सकिँदैन । सबै कुरा छलफल र सहमतिमा गर्ने हो ।”
धनगढी उपमहानगरपालिकाले समेत वैशाख १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । धनगढी बढी भिडभाड हुने शहर भएकाले धनगढीमा विद्यालय बन्द गर्न सरकारले निर्देशन दिएको थियो । सोमबार सामुदायिक, निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधि, प्याब्सन, एनब्याब्सनका प्रतिनिधि र अन्य सरोकारवालासँग सुझाव सङ्कलन गरेपछि वैशाख १५ गतेसम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरिएको उपप्रमुख सुशीला मिश्र भट्टले जानकारी दिए ।
उपप्रमुख मिश्र भट्टले सबै पक्षसँग सुझाव लिएपश्चात् १९ वटै वडाका अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०७ बैशाख २०७८, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन