आईपीओमा १० कित्ते नीति हटाउने तयारी

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १४ : ००
आईपीओमा १० कित्ते नीति हटाउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण शेयर आईपीओ मा १० कित्ते नीति हटाउने तयारी गरेको छ । शेयर पर्नेलाई कम्तीमा १० कित्ता पाउने विद्यमान व्यवस्थालाई हटाउँदै कम्तीमा ५० कित्ता दिने गरी बोर्डले नियम बनाउने अन्तिम गृहकार्य गरेको छ ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले १० कित्ते नीति पुनरावलोकनका विषयमा अध्ययन भइरहेको बताए । केही समयअघि नै यो नीति हटाउने बोर्डको तयारी थियो । तर साना लगानीकर्ताहरूले विरोध गरेपछि निर्णय भने हुनसकेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले नै १० कित्ते नीति हटाउनुपर्ने मागसहित बोर्ड अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ । यसपछि थप गृहकार्य भइरहेको अध्यक्ष ढुंगाना बताउँछन् । तर कहिलेदेखि हट्छ भनेर मिति भने अहिले तोक्न नसकिने उनले बताए ।

शेयर पर्नेलाई कम्तीमा १० कित्ता पाउने विद्यमान व्यवस्थालाई हटाउँदै कम्तीमा ५० कित्ता दिने गरी बोर्डले नियम बनाउने अन्तिम गृहकार्य गरेको छ ।
शेयर बजारको प्राथमिक बजारमा अहिले ‘१० कित्ते’ नीति अर्थात् गोला प्रथाबाट शेयर पर्नेलाई कम्तीमा १० कित्ता पर्छ । १० कित्ता पर्ने भएका कारण साधारण शेयर आईपीओमा अहिले न्यूनतम १० कित्ता अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन भएको छ भने १००० रुपैयाँ भए आवेदन दिन पाइन्छ ।

आईपीओ आवेदकहरूको संख्या ठूलो भएको छ । पछिल्लो समय ३४ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । त्यसमध्ये कम्तिमा ५० प्रतिशतले आईपीओका लागि आवेदन दिने गरेका छन् । आवेदक धेरै हुँदा थोरैले मात्रै आईपीओ हात पार्छन् । त्यसमा पनि १० कित्ता आईपीओ हात पारेर ठूलो आम्दानी हुँदैन । बरु ५० कित्ता बनायो भने पर्नेलाई राम्रो हुने बोर्ड अध्यक्ष ढुंगाना बताउँछन् ।

१० कित्ते नीति हटाउन माग गर्दै फोरमले ज्ञापनपत्र नै बुझाएपछि बोर्ड दबाबमा छ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन महासंघको पूँजी बजार फोरमको सभापतिमा अम्बिकाप्रसाद पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस