विद्यालय बन्द गर्न आग्रह मानवअधिकार आयोगको आग्रह

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, ०८ : २४
विद्यालय बन्द गर्न आग्रह मानवअधिकार आयोगको आग्रह

काठमाडौं । कोभिड–१९ को नयाँ स्वरुप देशमासमेत तीव्र रूपमा फैलिँदै गैरहेकाले बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय र भीडभाड हुने संस्था बन्द गर्न आग्रह गरेको छ । उपत्यकामा रहेका विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना तथा बालबालिकामा कोरोना संक्रमण जोखिमको स्थलगत अनुगमन गरेपछि विद्यालय बन्द गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो ।

अनुगमनबाट निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भेटिएको आयोगले जनाएको छ । दुई सातायता तीन सयभन्दा बढी बालबालिकाहरू कोभिडबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकासहितका १४ जिल्लामा शिक्षण संस्थालगायत बढी भीडभाड हुने क्षेत्रका सेवा तथा तत्कालका लागि बन्द गर्न सुझाव दिएको छ ।

विद्यार्थी संख्या धेरै भएकाले मापदण्ड पालना गर्न सम्भव नभएको शिक्षकहरूले बताएका छन् । एउटै कक्षाकोठामा टाउको दुःखेका बिरामीसमेत सँगै कक्षा कोठामै राखिएको अनुगमनमा पाइएको छ । शिक्षण संस्था सञ्चालनमै रहेका र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा बालबालिकाहरूको स्वास्थ्य अधिकार जोखिममा परेको देखिन्छ। संविधानको धारा ३९ ले बालबालिका हकको व्यवस्था गरेको छ।

नेपालपक्ष राष्ट्र बनेको बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को धारा २४ ले बालबालिकाको उच्चतम स्वास्थ्यको हितलाई ध्यानदिनुपर्ने आयोगले स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस