अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती

रासस

शुक्रबार, ०३ बैशाख २०७८, १० : २८
अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन् । बालबालिकामा समेत सङ्क्रमण देखिएपछि काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयका कतिपय अभिभावकले पढाइभन्दा ज्यान ठूलो ठानेर आफ्ना छोराछोरीलाई पठाउन छाडेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, समारोह, विद्यालय, भीडभाड हुने व्यावसाय र रात्रिकालीन होटलजस्ता स्थान सञ्चालन नगर्न पटकपटक आग्रह गरेको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्दका विषयमा सरोकार भएका पक्षसँग परामर्श गरी सुझाव तयार गरेको छ ।  बालबालिका चरित्रका दृष्टिकोणले चञ्चले, उत्सुक, जिज्ञासु, नक्कल गर्ने, जिद्दी तथा अनुसन्धानकर्ता हुने हुँदा र समूहमा बस्दा कोभिड–१९ को जोखिम अत्यधिक हुने भएकाले जोखिम भएका स्थानमा बालबालिकालाई सुरक्षित राख्नु चुनौतीपूर्ण देखिएको छ । 

पछिल्लो एक सातामा मात्रै करिब ३०० बालबालिका सङ्क्रमित भइसकेका छन् । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिकाइ निरन्तरताबारे सरोकारवाला पक्षबाट प्राप्त सुझाव र मन्त्रालयको राय समेटेर कोभिड–१९ केन्द्रीय निर्देशन तथा व्यवस्थापन समिति सिसिएमसी र मन्त्रिपरिषद्मा सुझाव पठाइएको जानकारी दिए ।

गत वर्ष बन्दाबन्दीका अवधिमा पाठ्यवस्तुमा समायोजन गरी अनलाइन, टेलिभिजन, रेडियोजस्ता सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सिकाइ निरन्तरता दिइएको थियो । मुलुकका सबै भागमा सूचना तथा सञ्चार प्रविधिको पहुँचको अभाव र सबै शिक्षक सूचना प्रविधिमा पोख्त नभएकाले वैकल्पिक माध्यमको सिकाइ प्रभावकारी नभएको विभिन्न अध्ययनले देखाएको थियो । 

सरकारले तोकिएको कार्यविधिका आधारमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय पुनः सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको थियो । शिक्षा विकास तथा मानव संशाधन केन्द्रले विद्यार्थीका लागि स्वअध्ययन सामग्री प्रकाशन गरेको थियो भने कतिपय विद्यालयका शिक्षकले घरघर र टोलटोलमा पुगेर पनि पढाउन पहल गरेका थिए । यस्ता प्रयासलाई पुनः थालनी गर्न सकिने भए पनि प्रत्यक्षरूपमा पढाइएको सरहको सिकाइ उपलब्धि नहुने ठानिएको छ । 

शिक्षा मन्त्रालयले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन गत जेठ १८ मा जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७’ मा पनि परिमार्जनको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस