निर्माण पूरा नहुँदै धरहरा उद्घाटनको तयारी गर्दै प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, ०९ : ०५
निर्माण पूरा नहुँदै धरहरा उद्घाटनको तयारी गर्दै प्रधानमन्त्री ओली

काठमाडौ । २२ तले धरहराको निर्माण कार्य सकिन अझै धेरै समय लाग्छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धराहराको निर्माण कार्य सम्पन्न गर्न आगामी पुससम्म लाग्ने बताएको छ । 

यता प्रधानमन्त्री केपी शर्मा ओली निर्माण पूरा नहुँदै उद्घाटनको तयारीमा जुटेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटन गरिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट धराहराको उद्घाटन गर्ने तयारी यतिबेला भइरहेको छ । निर्माण पूरा नहुँदै प्रधानमन्त्री ओलीलाई धराहराको उद्घाटन गर्ने हतारो छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार धराहराको मूल स्तम्भ सकिएका कारणले उद्घाटन गर्ने तयारी भएको हो।  प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्‍न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । कोभिड १९ को  कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको रमन कन्स्ट्रक्सनले जनाएको छ । 

रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि धराहरा निर्माण कार्य सुरु गरेको थियो । २२ तला रहेको धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । 

प्रतिक्रिया दिनुहोस