गर्भपतन

गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइँदै

विहीबार, १५ चैत्र २०७४, १३ : ५७
गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइँदै

नवलपरासी । अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ । परिवार नियोजनको साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ ।

गर्भवती महिलाको मञ्जुरीमा, कानूनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा दुई हजार ५९५ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये २२० महिला २० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । अवैध गर्भ बसेपछि अविवाहित किशोरीले समेत गर्भपतन गराउने गरेका छन् ।

आर्थिक वर्ष २०७२/७३ मा गर्भपतन गराउनेको संख्या दुई हजार २५९ रहेको थियो । गत आर्थिक वर्षमा २० वर्षभन्दा कम उमेर समूहका १४२ जना महिलाले औषधिको प्रयोग गरेर गर्भपतन गराएका छन् भने ७८ जना महिलाको सर्जिकल (उपकरणको प्रयोगद्वारा) गर्भपतन गरिएको स्वास्थ्य कार्यालय नवलपरासीको तथ्यांकमा उल्लेख छ ।

यो तथ्यांक सुरक्षित गर्भपतन गर्न मान्यता प्राप्त जिल्लाका २५ वटा संस्थाको मात्रै हो । अधिकांशले निजी अस्पताल र क्लिनिकमा समेत गर्भपतन गराउने गरेको पाइन्छ । जिल्लाको सीमावर्ती क्षेत्रमा कतिपयले गर्भपतन गराउन भारतीय बजार समेत जाने गरेका छन् । निजी मेडिकलमा अवैध र गोप्य रुपमा गराउने गर्भपतनको संख्यालाई पनि जोड्ने हो भने गर्भपतनको अवस्था भयाभह रहेको देखिन्छ ।
राज्यले बढीमा १२ हप्ता सम्मको गर्भ भएको गर्भवती महिलाको इच्छानुसार गर्भपतन गराउनुलाई आकस्मिक सेवाको रुपमा मान्यता दिए पनि गर्भपतन भने संस्कृतिको रुपमा विकास हुँदै गरेको पाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस