प्रधानमन्त्री ओलीद्वारा स्लोभाक प्रधानमन्त्रीलाई बधाई

रासस

शुक्रबार, २७ चैत्र २०७७, १९ : ११
प्रधानमन्त्री ओलीद्वारा स्लोभाक प्रधानमन्त्रीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्लोभाक गणन्त्र स्लोभाकको प्रधानमन्त्रीमा एडुवार्ड हेगेर नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले स्लोभाकका प्रधानमन्त्री हेगेरलाई आज एक बधाई सन्देश पठाउँदै दुई देशबीचको सम्बन्ध सुमधुर रहेकामा सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

 सन्देशमा उहाँले द्विपक्षीय सम्बन्धलाई व्यापार, लगानी र प्रविधिका क्षेत्रमा अझ विस्तार गर्ने नेपालको चाहना व्यक्त गर्नुका साथै जनस्तरको सम्बन्ध र सम्पर्कलाई सुदृढ तुल्याउने अभिलाषा प्रकट गर्नुभएको छ । कोभिड–१९ को महामारीविरुद्धको स्लोभाक गणतन्त्रको लडाइँप्रति प्रधानमन्त्री ओलीले ऐक्यबद्धता जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इभान कोर्कोक गणतन्त्र स्लोभाकको परराष्ट्र तथा युरोपेली मामिलामन्त्री नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । उहाँलाई आजै पठाउनुभएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले भूपरिवेष्टित एवं पर्वतीय देश नेपाल र गणतन्त्र स्लोभाकले साझा चासोका विषयमा द्विपक्षीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सघन साझेदारी गर्नुपर्नेमा जोड दिनुभएको छ । 

आजै परराष्ट्रमन्त्री ज्ञवालीले ब्राजिलको विदेशमन्त्रीमा कार्लोस अलवेर्टो फ्राङ्को फ्राङ्का नियुक्त हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नवनियुक्त विदेशमन्त्रीलाई पठाउनुभएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले व्यापार, लगानी, कृषि प्रविधि तथा पर्यटन क्षेत्रमा द्विपक्षीय सहयोग प्रवद्र्धनको अवसर नेपालले खोजिरहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस