पशुपति क्षेत्रमा देशोद्धार पूजाका निम्तालुलाई स्वागत गरिँदै

रासस

मंगलबार, २४ चैत्र २०७७, १४ : ३२
पशुपति क्षेत्रमा देशोद्धार पूजाका निम्तालुलाई स्वागत गरिँदै

काठमाडौं । देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै छ ।प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीमा उपत्यकाका भित्री भागका देवीदेवतासहित स्थानीयवासीलाई निमन्त्रणा गरिएपछि नवमी र दशमीका दिन पाहुनालाई स्वागत गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका तर्फबाट जात्रासम्बन्धी काम हेर्दै आउनुभएका वरुण खतिवडाले जानकारी दिए । पाहुनालाई स्वागतसँगै आज र भोलि पूजा सामग्री तयार पार्ने कामसमेत गरिन्छ । 

चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म पशुपति क्षेत्रमा यो जात्रा मनाइन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत्सलेश्वरी र आकाश भैरवको रथयात्रा गरी हुने यो जात्रापछि नै उपत्यकामा अरु जात्रा गर्ने परम्परा छ । जात्राको पहिलो दिन सोमबार बेलुकी पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरी उपत्यकाका प्रमुख देवीदेवतालाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरिएको छ । 
  
सोमबार बेलुकी ५ बजे पशुपतिनाथ मन्दिरमा भट्ट रामाकान्त भट्टले पूजा आराधना गरेपछि उहाँकै नेतृत्वमा उपत्यकाको भित्री भागका देवीदेवतालाई निमन्त्रणा गरिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले बताए । निमन्त्रणादेखि जात्राका सबै कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने कोषले जनाएको छ । 

 निमन्त्रणा यात्रा पशुपति पश्चिम मूलढोकाबाट जयबागेश्वरी–ताम्रेश्वर–भण्डारेश्वर–ज्ञानेश्वर–नक्साल भगवती–कमलाक्षी–असन–हनुमानढोका–कुमारीघर–जैसीदेवल–लगन डबली–पचलीभैरव–यङ्गाल–मरु गणेश–नरदेवी–टेबहाल हुँदै पशुपतिस्थित वत्सलेश्वरी मन्दिरमा पुगेर निमन्त्रणा सकिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले  जानकारी दिए । 

जात्रा सम्पन्न गर्न कोषले सञ्चालक परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले कोरोना महामारीलाई ध्यान दिँदै व्यवस्थित जात्रा गर्ने तयारी गरेको बताईन् । सोमबारको निमन्त्रणालाई दुदु च्याँ च्याँ भनिन्छ । चैत्रकृष्ण एकादशीदेखि बज्रेश्वरी, वत्सलेश्वरी र आकाशभैरवको विशेष पूजा आराधना शुरु हुन्छ । देशको उद्धार गर्ने सङ्कल्पले लिच्छविकालमा शुरु भएकाले यसलाई देशोद्धार पूजा एवं जात्राको नाम दिइएको हो । 

प्रतिक्रिया दिनुहोस