केपी ओली अध्यक्ष रहेको पार्टीमा कसैको खैरियत  छैन् : माधवकुमार नेपाल

सफल खबर संवाददाता

मंगलबार, २४ चैत्र २०७७, १३ : ३१
केपी ओली अध्यक्ष रहेको पार्टीमा कसैको खैरियत  छैन् :  माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका नेता माधवकुमार नेपालले केपी ओली अध्यक्ष रहेको पार्टीमा कसैको खैरियत नरहेको बताएका छन्।

बागमती प्रदेश कमिटीको समानान्तर कमिटी घोषणा गर्दै नेपालले ओली समक्ष आत्मसमर्पण गर्ने वा दृढतापूर्वक उभिनेबाहेक आफूहरुसँग अरु विकल्प नरहेको बताए।

बल्खुस्थित एक पार्टी प्यालेसमा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले भने–केपी ओली अध्यक्ष रहेको पार्टीमा हामी कसैलाई खैरियत छैन। उनले त हाम्रा साथीहरुलाई टिकट नै दिएनन्। हामी इन्चार्ज भएका ठाउँमा बल्ल बल्ल केही ठाउँ पाइएको थियो। अहिले त इन्चार्जबाट पनि हटाइसकेका छन्।

नेपालले देशभरी नै नयाँ कमिटीहरु गठन हुने क्रम चलेको र यो क्रम नरोकिने बताए। उनले चिन्ता गर्ने कुनै अवस्था नरहेको र उच्च मनोबलका साथ केपी ओलीविरुद्धको लडाइमा विजय हुने बताए।

नेपालले भने–हामीसँग केपी ओलीको सामुन्ने आत्मसमर्पण गर्ने,पार्टीभित्रको द्धन्द्धबाट बैराग हुने हो भने बेग्लै कुरा हो। नत्रभने दृढतापूर्वक उभिनुपर्छ,लडाइँ जितिन्छ।

७७ जिल्ला मध्ये ४२ जिल्लामा आफूहरुको बलियो उपस्थिति रहेको दावी गर्दै नेता नेपालले आफूलाई कमजोर ठान्ने अवस्था नरहेको बताए। उनले अहिलेको लडाइँ कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने कि कमजोर भन्नेबीचको रहेको बताए।

‘हामी केपी ओली भन्दा भिन्न छौं,’ उनले भने, ‘हामी कसैलाई गाली गर्दैनौं । कम्युनिष्ट पार्टीलाई बलियो बनाउने कि कमजोर बनाउने यो लडाइँ हो ।’कम्युनिष्ट पार्टी र आन्दोलनलाई बलियो बनाउने गरि आफरुहरु अगाडि बढेको भन्दै जीत आफूहरुकै हुने दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस